काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको महामारी फैलन नदिन आवश्यक पूर्वतयारी गरिएको दाबी गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रतिकार्यको ढाँचा तयार पारिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा डा देवकोटाले भने, ‘कोरोनाको महामारी नियन्त्रणका लागि हामीले आवश्यक तयारी गरेका छौं। संक्रमणको अवस्था र आवश्यकताअनुसार तयारी बढाउँदै लैजान्छौं।’
सरकारले कोरोनाको संक्रमण फैलन नदिन उच्च संक्रमण भएका चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेन गरी आठ वटा मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको, त्यहाँबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने गरी खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
कोरोनाको संक्रमण फैलिएको अवस्थामा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला र प्रदेशलाई पनि पकेट एरिया लकडाउन गर्न सकिने मन्त्रालयले जनाएको छ। कोरोना प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने, स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने मन्त्रालयको योजना छ।
प्रवक्ता देवकोटाले भने, ‘यी सबै योजना नेपालमा संक्रमण फैलिएको अवस्थामा मात्र लागू हुने हो। अहिले नै गरिहाल्नुपर्ने अवस्था छैन।’
उच्च संक्रमित देशबाट आउने नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन मन्त्रालयले निर्देशन दिएको छ। प्रत्येक दिन सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने र उपयुक्त नभएकाले होम क्वारेन्टाइनमा रहन निर्देशन दिएको मन्त्रालयको भनाइ छ।
कसैलाई कोरोना भए÷नभएकोबारे जानकारी लिन निगरानी बढाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए। यसका लागि कुनै अस्पतालमा गम्भीर खालका श्वासप्रश्वास र निमोनियाका बिरामी आए महाशाखामा रिपोर्टिङ हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।