काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बजारमा अभाव भएको मास्क र स्यानिटाइजर वितरण गर्ने भएको छ। केही दिनअघिबाट मात्रै नेपाल चेम्बर अफ कमर्सले मास्क र स्यानिटाइजर वितरण सुरु गरेको थियो।
चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राले पनि मेसिन नै मगाएर मास्क उत्पादन गर्ने निर्णय गरिसकेका छन्। बजारमा सबैभन्दा बढी अभाव भएको अत्यावश्यक वस्तुको रुपमा मास्क र स्यानिटाइजर रहेको ठहर गर्दै महासंघले पनि वितरण गर्ने निर्णय गरेको छ।
विश्व स्वास्थ्य संगठनले समेत आपतकालीन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत अत्यन्त जोखिमपूर्ण राष्ट्रको रूपमा रहेकाले सम्भावित जोखिमबाट जोगिन यस संक्रमणका बारेमा पर्याप्त जानकारीसहित पूर्व सावधानी अपनाउन जरूरी रहेकोले महासंघले यूनएनडिपि र यूनिसेफसमेतको सहकार्यमा आफ्नो संजाल मार्फत जनचेतनामुलक कार्यक्रम स्थानीयस्तरसम्म लैजाने निर्णय गरेको छ।
यसैगरी, जोखिम न्यूनिकरणका लागि कार्य गर्न महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरी सोही कार्यदल मार्फत आवश्यक उपकरण, औषधि, सरसफाइका सामग्रीहरूको वर्तमान वस्तुतथ्य संकलन गर्ने, मास्क, स्यानिटाइजरलगायतका सरसफाई सामग्री संकलन गर्ने र आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने निर्णय गरेको छ।
महासंघले आफ्ना सबै प्रदेश च्याप्टरमार्फत स्थितिको आँकलन गरी जनचेतनामुलक कार्यक्रम संचालन गर्न र आवश्यक सामग्रीहरूको वितरण गर्न प्रदेश च्याप्टरहरूलाई आग्रह गर्ने भएको छ।
महासंघका सबै सदस्य संघ तथा संस्था, उद्योग प्रतिष्ठानहरूलाई आ–आफ्ना कार्यक्षेत्र र कार्यस्थलमा कोरोना भाइरसबारे पर्याप्त जनचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीहरूलाई आवश्यक मास्क, स्यानिटाइजरलगायतका सरसफाइका सामग्रीहरू उपलव्ध गराई प्रयोग गर्न आग्रह गर्ने भएको छ। महासंघले सरकारलाई आवश्यक सहयोग गर्न महासंघ तयारी अवस्थामा रहने समेत निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।