काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को आशंकामा सात जना बिरामी आइसोलेसन वार्डमा भर्ना भएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच र पाटन अस्पतालमा दुई जना बिरामी कोरोनाको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका हुन्।
शुक्रराज अस्पतालमा बिहीबार मात्र एक जना महिला भर्ना भएकी छिन्। अमेरिकाबाट नेपाल आएकी ती महिलालाई कोरोनाको आशंकामा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए। उनको शुक्रबार र बाँकी चार जनाको बिहीबार बेलुकीसम्म रिपोर्ट आउने उनले बताए।
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय ५० जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये एक जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो।
कोरोनाको उपचारका लागि काठमाडौंमा विभिन्न अस्पतालका १ सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।