धनगढी- हिउँदे याममा साल लगायतका रुखका पात झर्ने गर्छन्। खसेका पात मलसोत्तरका लागि प्रयोग गरिन्छ। ठूलो संख्यामा भने वनमै कुहिएर जान्छन्। अझ सुकेर खसेका पातका कारण वन डढेलोको जोखिम पनि उत्तिकै रहने गरेको छ। तर, कैलालीको भजनीस्थित वनदेवी सामुदायिक वनका उपभोक्ताले खेर जाने पातलाई आम्दानीमा परिणत गर्दै आएका छन्।
३ सय १२ हेक्टर क्षेत्रफल रहेको वनदेवी सामुदायिक वन समितिले एक वर्षदेखि दुनाटपरी उत्पादन कार्य थालेको छ। वन समितिका उपाध्यक्ष राजकुमार चौधरीले भने, 'वनमा खसेका सालका सुकेका पात संकलन गरेर दुनाटपरी बनाउने काम भइरहेको छ।'
उपाध्यक्ष चौधरीका अनुसार वन समितिका उपभोक्ताले दैनिक २५ सय पातका र ८ हजार जति कागजका दुनाटपरी उत्पादन गरिरहेका छन्। सामुदायिक वनले मासिक २५ हजार जति दुनाटपरी उत्पादन गरिरहेको छ। उपाध्यक्ष चौधरीले दुनाटपरी उत्पादन सुरु गरेपछि जोशीपुर, भजनी लगायतका क्षेत्रमा माग बढेको बताए।
सामुदायिक वनले उत्पादन गरिरहेको दुनाटपरी ब्रतबन्ध, विवाह, पूजापाठ लगायतका धार्मिक सांस्कृतिक कार्य तथा भोजभतेरमा प्रयोग हुने गरेका छन्। उनले, कागजभन्दा पनि पातको दुनाटपरीको माग अधिक रहेको बताए। उनका अनुसार कागजको दुनाटपरी होटल तथा ठेलामा खानेकुरा र फलफूल बेच्ने व्यापारीले खरिद गर्ने गरेका छन्।
सामुदायिक वन र दीगो विकास समाज भजनीको लगानीमा दुनाटपरी उत्पादन कार्य भइरहेको छ। सामुदायिक वनको १ लाख ९० हजार रुपैयाँ र दीगो विकास समाजको ७५ हजार गरेर २ लाख ६५ हजार रुपैयाँको लगानीमा कागज तथा पातका दुनाटपरी बनाउने मेसिन ल्याएर उद्योग सञ्चालन भइरहेको छ।
‘दुनाटपरी बनाउने काम सुरु गरेपछि यस क्षेत्रका महिलाले रोजगारी पनि पाएका छन्,’ उपाध्यक्ष चौधरीले भने, 'दुनाटपरीको आम्दानीबाट ७५ प्रतिशत महिलालाई र २५ प्रतिशत वनको आम्दानीभित्र राखिने गरेको छ।' उनले पात र कागजका दुना टपरीले वातावरण प्रदुषण हुनबाट पनि जोगाउने बताए। प्लास्टिकका थाल बटुका प्रयोग गर्नुभन्दा पातका दुनाटपरी प्रयोग गर्नु वातावरणका हिसाबले पनि उपयुक्त रहने उनको भनाइ छ।
सो वनले सात जना महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ। भने थुप्रैले ज्यालादारीमा काम गरिरहेका छन्। सो सामुदायिक वनमा १ हजार ६ सय उपभोक्ता छन्।
वनदेवी सामुदायिक बनझैं जिल्लामा अन्य केही सामुदायिक वनले पनि उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुर्या उन विभिन्न काम गरिरहेका छन्।
कैलालीका केही सामुदायिक वन समितिले उपभोक्ताको आयस्रोत वृद्धि गर्न जडिबुटी खेती, तरकारी खेती, बेर्ना उत्पादन लगायतका काम गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ।
सामुदायिक वन समितिहरूले जीविकोपार्जन तथा आयस्रोतका लागि विभिन्न कार्य गरे पनि जिल्लामा के–कति सामुदायिक वनले आयआर्जनका काम गरिरहेका छन् भन्ने बारे तथ्यांक नभएको जिल्ला वन कार्यालय, कैलालीका सूचना अधिकारी भीमप्रसाद ढकालले बताए।
उनले भने, 'सामुदायिक वन समितिहरूले जिल्ला वन कार्यालयलाई पठाउने विवरणमा प्रायः आयआर्जन सम्बन्धी गतिविधि उल्लेख गरेको पाइँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।