काठमाडौं- पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा बिहीबारदेखि ‘हाम्रो नेपाल सुशासन अभियान’सुरु भएको छ। अभियान सफल भए कालान्तरमा राजनीतिक दलमा परिणत गरिने अभियानका संयोजक खरेलले संकेत गरे।
भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न बिहीबार अवधारणापत्र सार्वजनिक गरिएको छ। भ्रष्टाचार संस्थागत रूपमा मौलाएकाले अभियान नै सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको संयोजक खरेलको भनाइ छ। राज्यका हरेक अंगका पदाधिकारीले आफूले लिएको सपथलाई लत्याउँदै भ्रष्टचारमा लिप्त हुने गरेको उनले बताए।
अभियान घोषणा कार्यक्रममा ५ सदस्यीय केन्द्रीय तदर्थ समिति सार्वजनिक गरिएको छ। संयोजक खरेलसहित अभियानको नेतृत्वमा पूर्वसचिव देवेन्द्र सिटौला, कानुन व्यवसायी डा नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।
अभियानकर्ताले ६ महिना भ्रष्टाचारविरोधी कार्यक्रम लिएर ७७ जिल्लामा जनतालाई सुसूचित गराउने लक्ष्य लिएको छ। ७७ जिल्लाका कार्यक्रमबाट आएका प्रतिक्रियाका आधारमा राजनीतिक दलमा परिणत हुने सक्ने संकेत संयोजक खरेलले कार्यक्रममा गरेका छन्।
संविधान अनुरुप दलका नेताहरुले त्यसको परिपालन नगरेकाले भ्रष्टचार र बेथिति बढेको उल्लेख गर्दै संयोजक खरेलले भने,‘राष्ट्रियता मरेको छ। देश लागुऔषधको ट्रान्जिट पोइन्ट बनेको छ। ‘एस म्यान’को मात्रै खोजी हुन्छ।’ धेरै नताहरुलाई भ्रष्टाचार नगरि निद्रा नलाग्ने बताएका खरेलले भने, 'असैह्य भएपछि अभियान सुरु गरिएको हो।’
२९ वर्षे प्रहरी सेवामा रहेर राजीनामा दिएका खरेलले प्रहरी सेवामा सिकेको सदाचारको नीति अभियानमा खर्चेने प्रतिबद्धता गरे।

भ्रष्टाचार काण्डलाई सर्वसाधारणलाई सुसूचित गराई अभियानलाई व्यापक बनाउने अभियानकर्ताहरूले बताएका छन्। नेता र नीति बने पनि नियत खराब हुँदा कुशासन बढेको पूर्वसचिव देवेन्द्र सिटौलाले टिप्पणी गरे। विचार अनुसारको व्यवहार नहुँदा कानुन बनेपनि भ्रष्टचार नघटेको उनको भनाई थियो। ‘देशमा बिहानी नै आउन पाएन। देश अस्थिपञ्जरमा परिणत भएको छ,’अभियानकर्मी सिटौलाले भने,‘नेताहरूले कर्तव्य पूरा नगरेकैले अभियान सुरु गर्नु परेको छ।’
पटक-पटकका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नआएको अभियानकर्तासमेत रहेका कानुन व्यवसायी डा नारायण घिमिरेले बताए। ‘रैति हुँदै प्रजा भएका नागरिक गणतन्त्र आउँदासमेत वास्तविकता नागरिकमा परिणत हुन पाएनन्।’
राष्ट्रियताको प्रवर्धन, भ्रष्टाचार अन्त्य, निर्वाचन प्रणालीमा सुधार, प्रभावबाट हुने धर्म परिवर्तनमा रोक, विदेशमा रहने नेपालीलाई मताधिकारलगायतका एजेन्डा सबै जिल्लामा प्रचार गरिने अभियानकर्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।