काठमाडौं - भोगाधिकार सक्किएको भन्दै ४ रोपनी ४ आना जग्गा खाली गराउने तारागाउँ विकास समितिको प्रयास अदालतले रोकेको छ।
३५ दिने सूचना दिएर समितिले आफ्नो नाममा रहेको सो जग्गामा बनेको संरचना हटाउन खोजेको थियो। प्रक्रिया अनुसार समितिले घर जग्गा खाली गर्न ३५ र थप ७ दिनको सूचना जारी गरेको थियो।
सो सूचनाविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले तत्काल कारबाही स्थगित गरेर १५ दिनभित्र दुवै पक्षलाई अदालतमा बोलाएको छ।
‘उच्च अदालतबाट तत्काल प्रक्रिया रोक्न स्टे अर्डर आएको छ,’ समिति अध्यक्ष प्रल्हाद न्यौपानेले भने, ‘सर्वोच्चको फैसलाअनुसार नै समितिले काम गरिरहेको हो। अव कानुनी प्रक्रिया अनुसारै समस्या समाधान गर्छौ।’
२०२६ मा अधिग्रहण भएको जग्गामध्ये ४ रोपनी ४ आनामा किचलो भएपछि सर्वोच्च अदालतले जग्गाको भोगाधिकार मन्दिरप्रसाद लम्साललाई र जग्गाको स्वामित्व समितिलाई दिएको थियो। सर्वोच्चले घर र घरले चर्चेको जग्गाको भोगाधिकार दिएको थियो। अहिले सो क्षेत्रमा थप संरचनासमेत बनेका छन्।
मन्दिरप्रसादको निधन भइसकेकाले भोगाधिकार सकिएको समितिको दाबी छ भने मन्दिरप्रसादकी श्रीमती जयन्ती जीवित रहेकाले भोगाधिकार समाप्त नभएको लम्साल परिवारको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।