डडेल्धुरा–कोरोना भाइरसको संक्रमण रोक्न मुलुकका विभिन्न सीमा नाकामा कडीकडाउ गरिनुका साथै स्वास्थ्य परीक्षण केन्द्र स्थापना भइरहेका छन्। डडेल्धुराको भारतीय सीमासँग जोडिएका नाकाहरुमा भने कुनै पनि गतिविधि सञ्चालन भएका छैनन्।
जिल्लाको भारतसँग जोडिएका सिसमजाला घाट र परशुराम घाटमा अहिलेसम्म सरकारको उपस्थिति हुन नसक्दा यस क्षेत्रमा कोरोनाको जोखिम रहने स्थानीयले आशंका गरेका छन्। भारतीय सीमा जोडिएका परशुराम नगरपालिकाका वडा नम्बर ५ र ६ मा रहेका नाकामा अहिलेसम्म कुनै पनि काम नभएको स्थानीयले जानकारी दिएका छन्।
यी नाकाबाट दैनिकजसो १०० देखि २०० जनासम्म आवतजावत गर्ने गर्छन्। तर यस क्षेत्रमा अहिलेसम्म स्वास्थ्य परीक्षणका लागि हेल्थडेस्क त कता हो कता राज्यको उपस्थितिस्वरुप सामान्य पोष्टरसमेत पु¥याउन नसकेको स्थानीय जगदिशसिंह बिष्टले बताए।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने भारतसँग जोडिएका सीमा नाकामा हेल्थडेस्क स्थापना गर्न नगरपालिकालाई फागुन २२ गते नै लिखित रुपमा पत्राचार गरेको जनाएको छ । जिल्लामा रहेका हरेक स्थानीय तहसँग कोरोना संक्रमण हुन नदिन सचेतना अभियान सञ्चालन गर्न समन्वय गर्नुका साथै पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।