काठमाडौँ- नेपाल प्रहरीका पूर्व डिआइजी रमेशप्रसाद खरेलले भ्रष्टाचार विरोधी नयाँ अभियान चलाउने भएका छन्। 'हाम्रो नेपाल सुशासन' नामक अभियान शुरु गर्न लागेका उनले बिहीबार अभियानको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।
प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि राजीनामा दिएका उनी प्रहरी संगठनमा कार्यरत रहँदा सरुवा/बढुवाका लागि ब्रिफकेस बोकेर धाउनुपर्ने भनेर विवादमा आएका थिए। प्रहरी संगठनमा काम गर्दा उनले असर प्रहरी अधिकृतको छवि बनाएका थिए।
उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै बिहीबार अभियानको प्रारम्भ गरिने जानकारी गराए पनि सो अभियानमा को-को सहभागी हुनेछन् भन्ने विषयमा भने कुनै पिन कुरा खुलाएका छैनन्।
एक साता अगाडि 'हाम्रो नेपाल, हामी नेपाली' अभियानमा संलग्न हुने तयारी गरेका खरेल अभियानमा अराजक अभियन्ताको छवि बनाएको भन्दै विवादित भएका ज्ञानेन्द्र शाही सहभागी भएपछि अलग्गिएका थिए। खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादव, विक्रम ओलीलगायत पनि सो समूहबाट बाहिरिएका थिए।
शाहीको कार्यशैलीप्रति असहमत खरेलले नयाँ अभियानको तयारी गरेका हुन्। सोही तयारीअनुसार बिहीबार काठमाडौँमा कार्यक्रमको घोषणाको तयारी गरेका हुन्। बिहीबार १ बजे त्रिपुरेश्वरस्थित एक पार्टी प्यालेसमा अभियानको घोषणा गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।