काठमाडौं- सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले ७ वर्षपछि पुन सिटामोल औषधि बिक्री वितरण सुरु गरेको छ। लिमिटेडले पहिलो व्यावसायीक बिक्रि वीर अस्पतालबाट सुरु गरेको हो। वीर अस्पतालमा आयोजित विशेष कार्यक्रममा लिमिटेडको उत्पादन सिटामोलको खरिद बिक्री भएको हो। लिमिटेडले प्रति ट्याब्लेट ७७ पैसामा वीर अस्पताललाई ३० हजार ट्याब्लेट सिटामोल बिक्री गरेको छ।
लिमिटेडका अध्यक्ष डा लक्ष्मीराज पाठक र महाप्रबन्धक डा रोवशकुशम सुवेदीले वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलाई बिक्री गरेको सिटामोल हस्तान्तररण गरेका हुन्। लिमिटेड विपन्न नागरीकको पहुँचमा औषधि पुर्याउने उद्देश्यले सिटामोलको औपचारिक बिक्रि सुरु गरेको जनाएको छ। लिमिटेडले सर्वसाधरणलाई प्रति ट्याब्लेट एक रुपैयाँमा सिटामोल बिक्रि गर्नेछ। सिटामोलको देशव्यापी बिक्रि आइतबारबाट हुने बताइएको छ।
औषधि खरिदपछि वीरका निर्देशक डा भुप्रेन्द्र बस्नेतले सरकारी कम्पनीले औषधि बिक्री सुरु गरेकोमा निकै खुसी लागेको बताए। उनले लिमिटेडले सबै थरीका औषधि उत्पादन गर्नुपर्ने सुझाब दिए।लिमिटेडका अध्यक्ष डा पाठकले बन्द भइसकेको संस्थाले पुन नयाँ जीवन पाएको भन्दै छिट्टै थप नयाँ उत्पादन ल्याउने तयारी भइरकेको जानकारी दिए।
लिमिटेडका महाप्रबन्धक सुवेदीले सस्तोमा गुणस्तरीय औषधि उत्पादन गर्दै अगाडि बढ्न लागेको बताए। उनले गरिवको पहुँचमा गुणस्तरीय औषधि पुर्याउनु नै लिमिटेडको उद्धेश्य रहेको जानकारी दिए। सुवेदीका अनुसार वीर अस्पताललाई बेचेको सिटामोलबाट लिमिटेडलाई ३० प्रतिशत नाफा भएको छ। लिमिटेडले हाल ५ लाख ट्याब्लेट सिटामोल उत्पादन गरेको छ भने थप ५ लाख उत्पादनको प्रक्रियामा छ। सिटामोल उत्पादनका लागि लिमिटेडले ३ वटा नयाँ टयाब्लेट कम्प्रेसर मेसिन खरिद गरेको थियो भने दुइवटा पुरानै मेसिन मर्मत गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।