काठमाडौं- विश्वव्यापी प्रकोपको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) १ सय ९ देश फैलिएको छ। विभिन्न तथ्याङक उपलब्ध गराउने बेवसाइट ‘वोल्डो मिटर’का अनुसार अहिलेसम्म कोरोनाको संक्रमण एक लाख १० हजार भन्दा बढी व्यक्ति संक्रमित भएको र ३ हजार ८ सय जनाभन्दा बढीको मृत्यु भएको छ।
संक्रमितमध्ये ६२ हजार ३ सय ९७ जना भने उपचारपछि ठीक भएका छन्।
संक्रमित र मृत्यु हुने एसियामा बढी
चीनको वुहानबाट फैलिएको संक्रमणका कारण प्रभावित हुनेहरु एसियामा बढी रहेको पाइएको छ। चीनमा कोरोना संक्रमितहरु ८० हजार भन्दा बढी पाइएका छन् भने ३ हजार भन्दा बढीको मृत्यु भएको छ।
चीनपछि एसियाको दक्षिण कोरियामा बढी संक्रमित भएका छन्। कोरियामा अहिलेसम्म ७ हजार ४ सयभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ। कोरियामा कोरोनाका कारण ५३ जनाको मृत्यु भएको छ।
मृत्युदर बढ्दै
कोरोना भाइरसको संक्रमण तीव्र रहेको भए पनि यसो निको हुने दर भने उच्च रहेको पाइएको छ। संक्रमितहरु मध्ये करिब ९४ प्रतिशतलाई संक्रण पूर्ण रुपमा निको भएका छन् भने मृत्यु दर ६ प्रतिशत रहेको छ। त्यस्तै संक्रमितहरुमध्ये ८७ प्रतिशतको अवस्था मध्यम छ भने १३ प्रतिशत संक्रमित गम्भीर छन्।
वृद्ध र पुरुषको धेरै मृत्यु
‘वोल्डो मिटर’को अद्यावधिक विवरण अनुसार वृद्धवृद्धा र पुरुषमा संक्रमण र मृत्यु हुने दर धेरै छ। ८० वर्षभन्दा माथिका वृद्धवृद्धामा भाइरस संक्रणको दर २१.९ प्रतिशत छ भने मृत्यु दर १४.८ प्रतिशत रहेको छ। त्यस्तै ७० देखि ७९ वर्षसम्मका वृद्धवृद्धामा मृत्युदर ८ प्रतिशत रहेको छ। विवरणअनुसार महिला र पुरुषमध्ये संक्रमण र मृत्यु दर पुरुषमा धेरै पाइएको छ। कोरोना संक्रमित भएकामध्ये २.८ प्रतिशत पुरुषको मृत्यु भएको छ भने १.७ प्रतिशत महिलाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।