मुम्बई- सन् २००७ मा रिलिज भएको थियो, फिल्म ‘तारे जमिन पर’। यसले बक्स अफिसमा धमाका मच्चाएको थियो। उक्त फिल्ममा एक बाल कलाकार थिए दर्शील सफारी।
दर्शीलले फिल्ममा ‘इशान’को भूमिका निर्वाह गरेका थिए। आमिर खानका साथ उनको भूमिकाको तारिफ चौतर्फी भएको थियो। ती बाल कलाकार अहिले कहाँ छन्? आज उनको २३ औं जन्मदिन हो।
आजभन्दा १३ वर्ष पहिले निर्दोष र क्युट देखिने ती बालक जवान उमेरमा मात्रै पुगेका छैनन्, स्मार्ट भएका छन्।
तर, उनी आजकाल बलिउडको चर्चामा छैनन्। सुरुवातकै फिल्मबाट चर्चित भएका उनको करियर त्यसपछि उकासिन सकेन। उनले ‘बमबम भोले’, ‘जोकोम्यान’ जस्ता फिल्ममा त देखिए तर दर्शकले मन पराएनन्।
आफ्नो जादू चल्न छाडेको महशुस गरेपछि उनले चार वर्षअघि बलिउडबाट बाटो मोडे।
उनले सन् २०१६ मा थिएटरको दुनियाँतर्फ पाइला चाले। सबैभन्दा पहिले उनी ‘कुड आइ हेल्प यु’ नामक नाटकमा देखिएका थिए। नाटकमा उनको अभिनयको तारिफ भएको थियो। भनिएको थियो‚ ‘तारे जमिन पर’को अवस्थामा फर्के।
त्यसपछि उनी केही नाटकमा देखिएका छन् तर बलिउडमा फर्किने सुरमा अझै देखिँदैनन्। भनिएको छ- उनी फेरि धमाकेदार प्रवेशको पर्खाइमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।