काठमाडाैं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएकाे छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा सवारी चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाइ गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको जानकारी दिए।
त्यस्तैगरी काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूमा “सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ” लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरीसमेत परिचालन हुने महाशाखाले जनाएकाे छ। महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोबाइल चेकिङ्ग गर्ने बताए।
उनले भने, 'उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरूसहित ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ।' हेलमेट नलगाइ दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरी सवारी साधन नचलाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरुलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।