काठमाडौं– कोरोना भाइरस नेपालमा फैलिनबाट रोक्न सरकार सर्वसाधारणलाई भीडभाडमा नजान आग्रह गरिरहेको छ। गृह मन्त्रालय र स्थानीय निकायले दिनैपिच्छे अपिल निकालेर सचेत गराइरहेका छन्।
फिल्म निर्माता तथा अभिनेता सिताराम कट्टेल (धुर्मुस) भने दिनकै फेसबुकमा स्टाटस लेखेर ‘अन्तराष्ट्रिय रंगशाला बनाउन सहयोग हुन्छ, ‘सेन्टी भाइरस’ फिल्म हेर्न हलमा जाऔं’ भन्दै सरकारी अपिललाई चुनौती दिइरहेका छन्।
हरेक दिनजसो फेसबुकमा स्टाटस लेखेर उनले फिल्म हेर्न हलमा जान आग्रह गरिरहेका छन्। जबकि कोरोना भाइरसको प्रभावका कारण अन्य फिल्म निर्माता–निर्देशकले नयाँ फिल्म समेत रिलिज गरेका छैनन्।
सेन्टी भाइरससँगै रिलिज भएको ‘आमा’को टोली मौन छ। तर, उनी भने रंगशालाको दुहाई दिएको दिएकै छन्। त्यति मात्रै होइन, उनले आफ्नो स्टाटसमा रंगशालामा बनाउँदा सानी छोरीलाई समेत समय दिन नपाएको भनेर पटक-पटक लेख्दै इमोसनल अत्याचार गर्न समेत छाडेका छैनन्।
कति पैसा जान्छ त रंगशालामा?
फिल्मको आधा नाफा रंगशाला निर्माणमा लगानी गर्ने उनले घोषणा गरेका छन्।
धुुर्मुसले दाबी गरेअनुसार नौ दिनमा नै यो फिल्मले ४ करोड ग्रस कलेक्सन गरिसकेको थियो। उनले चलचित्र २ करोड ८५ लाखमा बनेको दाबी गरेका छन्। फिल्म लोकेसन, कलाकार लगायतको पाटो हेर्दा फिल्ममा त्यत्रो खर्च लागेको पत्यार लाग्न मुस्किल पर्छ।
उनको दाबीअनुसार फिल्मले ४ करोड व्यापार गर्दा लगानी उठेको छैन। विश्वबजारबाट उठ्ने पैसाले फिल्मको लगानी परिपूर्ति गर्ने उनको दाबी छ। उनकै दाबी पत्याउने हो भने पनि ‘सेन्टी भाइरस’ नाफामा जाने देखिन्न। यसको अर्थ यो फिल्मबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि त्यति रकम जाने देखिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।