काठमाडाैं- बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन भनिने नरेन्द्रकुमार फौजदार १२ वर्षपछि पक्राउ परेका छन्। फौजदारलाई आइतबार बिहान ३ बजे बारागढी गाउँपालिका–६ गडहलस्थित निवासबाट पक्राउ गरिएको प्रदेश २ का डिआइजी प्रधुम्न कार्कीले जानकारी दिए।
फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए। त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ। एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो।
शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ। फौजदारसम्बन्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने छ।
बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए। राजनीतिक पहुँचकै आधारमा उनीमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो।
साह २०६४ कार्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परेका थिए। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरेकाे थियाे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता नलागेपछि खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो। ब्ल्याकीले दुई दिनपछि कार्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगाएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।