एजेन्सी- भारतको दिल्ली दंगामा प्रहरीलाई पेस्तोल ताक्दै तीन राउण्ड गोली चलाउने शाहरुख पक्राउ परेका छन्। नागरिकता संशोधन कानुनको विरोधमा सुरु भएको दंगाका क्रममा भारतीय शहर दिल्लीमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरी र सर्वसाधारण मारिएका थिए।
दिल्लीमा भइरहेको प्रर्दशनको क्रममा एक युवाले हेड कन्सटेवल दिपक दहियालाई पेस्तोल ताक्दै गोली चलाएको भिडियो भाइरल भएको थियो। भिडियो भाइरल भएसँगै पेस्तोल ताक्ने युवाको पहिचान भएपछि प्रहरी उनको खोजीमा खटिएको थियो।
दिल्लीबाट भागेर पञ्जाव हुँदै बरेलीबाट सामली भन्ने ठाउँमा लुक्न पुगेका उनी त्यहाँबाट भाग्ने तयारीमा रहेको बेला बस स्टपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई दिल्ली प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
दिल्ली प्रहरीका अनुसार शाहरुखले प्रयोग गरेको बन्दुक भने फेला परेको छैन। उनले सो बन्दुक आफ्नो कारखानामा काम गर्ने कामदारबाट लिएको खुलेको छ।
शाहरुखको बुबा नक्कली नोटमा पक्राउ परिसकेका व्यक्ति भए पनि उनको कुनै आपराधिक रेकर्ड फेला परेको छैन। विरोध प्रर्दशनमा सहभागी हुँदा आवेशमा आएर उनले बन्दुक निकालेको प्रहरीले जानकारी दिएको छ।
उनले पेस्तोल ताक्दै गरेको भिडियो पत्रकार सौरभ त्रिवेदीले सार्वजनिक गरेका थिए। प्रहरीका अनुसार शाहरुख मोडलिङमा रुची राख्थे। उनले टिकटकमा भिडियोहरु बनाएर पोस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।