काठमाडौं-त्रिवि शिक्षण अस्पतालले औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्नेको नाम सार्वजनिक गरेको छ। सञ्चारमाध्यमले स्रोत मार्फत दाताको नाम र तस्बिर सार्वजनिक गरे पनि सरकारीतहबाट उनको नाम सार्वजनिक गरिएको थिएन।
बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि शिक्षण अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा मिर्गौला दाता समीक्षा संग्रौला भएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीसँग उनको सम्बन्ध भान्जी भनिएको छ।

मिर्गौला प्रत्यारोपण अगाडि सरकारीतहले सबै जानकारी गोप्य राखे पनि दाताको जानकारी सार्वजनिक भएको थियो। समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभई काकाकी छोरी रहेको खुलेको थियो। प्रधानमन्त्री ओलीका काकाका छोरा तारा ओली हुन्। ताराकी श्रीमती अञ्जान घिमिरेले १२ वर्षअघि ओलीलाई मिर्गौला दिएकी थिइन्। तारा र अञ्जानकी भाञ्जी हुन् समीक्षा।
समिक्षाको स्वास्थ्य सामान्य, प्रधानमन्त्रीको स्थिर
विज्ञप्ति अनुसार समीक्षाको स्वास्थ्य अवस्था सामान्य छ। प्रत्यारोपणपछि प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ। अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको बताएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।