राजविराज– नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बडले नेपालको बृहत्तर विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) मार्फत सञ्चालनमा ल्याइएको ‘पानी तान्ने सौर्य पम्प’को उद्घाटन गर्न सप्तरीको सप्तकोसी नगरपालिका ४, बलार्दहमा आएका पिटरले सरकारको एक्लो प्रयासले मात्र विकास असम्भव भएकोले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए।
अस्ट्रेलियन सरकारले नेपालको विकासका लागि ५/६ दशकदेखि निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आफ्नो देशले नेपाली जनताको हितका लागि सकेसम्म सहयोगको क्षेत्र विस्तार गर्दै लाने उनको भनाइ छ।
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण र मनोरम देश भएकोले कृषिका अतिरिक्त पर्यटन व्यवसायको सम्भावना पनि उत्तिकै रहेको पिटरले बताए। उनले भने, ‘यही कारण हो, हरेक वर्ष करिब ३० हजारको संख्यामा अस्ट्रेलियन नागरिक नेपाल घुम्न आउँछन्।’ पर्यटनको क्षेत्रमा अस्ट्रेलियन सरकारले नेपाल सरकारसँग सहकार्य गर्ने सोच बनाएको पनि उनले जानकारी दिए।
पिटरले अस्ट्रेलियन सरकार र इसिमोडको सहकार्यमा स्थानीय कृषक मुरारी कार्कीको खेतमा जडान गरिएको सौर्य पम्पको उद्घाटन समेत गरे।

सप्तरीमा कुल २३ वटा पम्प जडान गरिएको जानकारी दिइएको छ। कुल ३ लाख ८० हजार पर्ने पम्पका लागि एनएमबी बैंकले ६० प्रतिशत अनुदान दिएकाले कृषकले कुल १ लाख ५२ तिर्नुपर्ने ब्यवस्था मिलाइएको इसिमोडका निर्देशक वसन्त श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।