बाजुरा- बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छन्। तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन्। नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ।
महिनावारी हुँदा उक्त विद्यालयका कम्तीमा २० जनाभन्दा बढी छात्रा ५ दिनसम्म विद्यालय आउँदैनन्। महिनावारी भएको बेलामा विद्यालय जानु हुँदैन भन्ने मानसिकता अझै गाउँमा रहेको पाइन्छ। छाउ भएपछि हिँड्ने बाटो र विद्यालयमा देवता भएका कारण विद्यालय पढ्न जान अभिभावकले रोक लगाउने गरेको कीर्तिचौर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा नन्दाकुमारी जोशीले बताइन्।
उनले छाउ भएको बेलामा विद्यालय आउने बाटाभरि देवताका मन्दिर भएका कारण र विद्यालयमा समेत देवता भएको हुँदा विद्यालयमा नआउने गरेको बताइन्। 'छाउ भएको बेलामा देवीदेवता भएको बाटो हिँड्दा देवता रिसाउने भएको भन्दै आमाबुबाले समेत स्कुल जान दिँदैनन्,' उनले भनिन्, 'छाउ भएको बेला विद्यालय नजाँदा पढाइमा समेत बाधा भएको छ।'
उनीमात्र होइनन् उनीसँगै ८ कक्षामा पढ्ने अर्की छात्रा मन्देवी जोशी भन्छिन्, 'विद्यालयमा देवताको मन्दिर बनाएर राखिएको छ। विद्यालय आउने बाटोभरि देवताका मन्दिर बनाएका छन्। छाउ भएको समयमा अभिभावकले ५ दिनसम्म रोक लगाउने गरेका छन्।'
विद्यालयमा छाउ भएको बेला जानलाई छात्रामैत्री शौचालय नहुँदा थप समस्या भएको जोशीको भनाइ रहेको छ।
जोशीद्वय जस्तै विद्यालयमा अध्ययन गर्ने २५० जना छात्राको समस्यामा विद्यालयको ध्यान जान सकेको छैन भन्छिन् कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थी सुनिताकुमारी रोकाया।विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पाँच दिनसम्मको पढाइलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्रा रोकायाको भनाइ छ।
कीर्तिचौर माविका प्रधानाध्यापक डबलबहादुर बोगटी महिनावारी भएको बेला छात्राहरु पढ्नै नआउने गरेको बताउँछन्।
विद्यालयमा छात्रामैत्री शौचालय बनाउँदा केही कमीकमजोरीका कारण छात्रा विद्यार्थीलाई समस्या हुने गरेका कारण छात्रा विद्यालयमा कम आउने गरेको प्रधानाध्यापक बोगटीले स्वीकार गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।