राजविराज– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा गयराति जन्ती र गाउँले युवाबीच झडप हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
सप्तरीकै शम्भुनाथ नगरपालिकाबाट इनर्वाको तोपा निवासी लालवावु खंगको घरमा जन्ती आएका युवा र स्थानीय युवाबीच डिजे बजाउने विषयमा झडप भएको थियो। झडपमा स्थानीय युवाहरु वीरेन्द्र मण्डल, इनरदेव मण्डल र संजित मण्डल घाइते भएका छन्।
घाइतेमध्ये संजितको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट लागेको छ। विराटनगर नरसिङ्ग होमको आइसियूमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। स्थानीयका अनुसार संजितको फागुन २८ गतेका लागि विवाहको तयारी भइरहेको छ।
वीरेन्द्र मण्डल र इनरदेव मण्डलकाे उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन्। झडप भइरहेका बेला छुट्याउन गएका वीरेन्द्र मण्डल घाइते भएर राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएको र उनलाई हेर्न जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी इनरदेव र संजित घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।
काे ३४ प ७८९ को मोटरसाईलमा चढेर वीरेन्द्रलाई हेर्न जाने क्रममा विपरीत दिशावाट आउँदै गरेको सप्तरीको त्रिकौल निवासी पवन मण्डलको को २७प ५१९७ को मोटरसाइकलमा ठोक्किएर दुवै जना घाइते भएको इन्स्पेक्टर कमल लुङ्गेलीले बताए।
झडपकै क्रममा स्थानीयले जन्ती आएका सिरहाको लहान नगरपालिका–२४ का अमित राय राजपुतको स१०प ५५१६ नम्वरको मोटरसाइकलमा आगो लगाएका छन्। मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।