काठमाडौं- अहिले भइरहेका खेलकुद प्रतियोगिताहरू हेर्ने हो भने लाग्छ- नेपालमा खेलाडी बाह्रै महिना व्यस्त छन्। हुन पनि केही वर्षअघि भन्दा अहिले प्रतियोगिताहरु बढेकै छन्। तर त्यसका लागि खेलाडीलाई आवश्यक हुने सुविधादेखि अन्य तयारी राम्रो छ त?
प्रतियोगिताहरु कसरी भइरहेका छन् र त्यसको असर खेलाडीमा कसरी परिरहेको छ भन्ने उदाहरण पछिल्लो समय भलिबल खेलाडीलाई केन्द्रमा राखेर हेरौँ।
अहिले राजधानीदेखि बाहिरसम्म भलिबलका प्रतियोगिताहरु धमाधम छन्। क्लबलाई भ्याइ नभ्याइ छ। कुन प्रतियोगितामा सहभागी हुने र कुनमा नहुने भन्न पुरस्कार राशीमा क्लबहरुको ध्यान छ।
खेलाडीको माग बढ्नु र प्रतियोगिता भइरहनु त राम्रो मान्नै पर्छ। तर ती प्रतियोगिता न त स्तरीय छन् न त प्रभावकारी नै। ‘इन्डोरडोर’ खेल भलिबलको ‘आउट डोर’ अभ्यास र प्रतियोगिताले कुनै ठूला प्रतियोगितामा जाँदा कठीन हुने गरेको खेलाडीहरु नै बताउँछन्।
राष्ट्रिय खेलका रुपमा भलिबल आएपछि र अन्तर्राष्ट्रिय सहभागितामा सम्झनलायक खेल हुँदै गर्दा यसमा धेरैको नजर पनि परिरहेको छ। विशेष गरी महिला भलिबलमा। तर अव्यवस्थित र लगातार प्रतियोगिता हुँदा यसको फाइदा भन्दा पनि नोक्सान नै भइरहेको छ। पछिल्लो दुई महिनामा चार वटा ठूलो महिला राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वर्षभरको प्रतियोगिता हेर्ने हो भने १५ भन्दा बढी पुग्छन्।
तर विश्राम विनाको यी प्रतियोगिताहरुबाट खेलाडीमा भने गम्भीर समस्या देखा पर्दै आएको छ।
माघ १० गते पाँचौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा विभागीय टिम एपिएफविरुद्ध न्यु डायमण्डको खेल चलिरहेको थियो। तेस्रो सेट २२-२० को अग्रता न्यु डायमण्डले लिइरहेको अवस्थामा न्यु डायमण्डकी प्रमुख खेलाडी प्रतिभा माली एक्कासी ढलिन्।
जम्प गरेर स्पाइक गरेपछि ल्यान्डिङ गर्ने क्रममा उनको खुट्टाले सन्तुलन गुमाउन पुगेको थियो। जसले गर्दा घुँडामा ठूलो चोट लाग्यो। तत्काल अस्पताल भर्ना भएकी प्रतिभाको ब्लु क्रस अस्पतालमा माघ १९ गते अपरेसन भयो। अहिले उनी भैँसीपाटीस्थित मेडिसिटी अस्पतालमा थेरापी गराइरहेकी छिन्।
प्रतिभा घाइते भएको एक महिना पछि नेपाली महिला भलिबल टिमकी मुख्य खेलाडीसमेत रहेकी एपिएफकी सरस्वती चौधरी पनि घाइते भइन्। चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा पुलिसविरुद्धको दोस्रो सेटमा उनी घाइते हुन पुगेकी थिइन्। तर उनको खाँचो टिमलाई थियो। घाइते भए पनि खेलिरहिन्। टिमलाई जिताइन्, सर्वोत्कृष्ट खेलाडी पनि बनिन्। तर गम्भिर घाइते भएकी उनलाई चोटपछि पनि खेलाउन आवश्यक थियो त?
राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडीसमेत रहेका न्यु डायमण्डकी प्रतिभा र एपिएफकी सरस्वती मात्रै हैन, एपिएफकै नेविका चौधरी पनि थला परेकी छिन्। नेविकाले ढोरपाटन लिगपछि विश्राम गरेकी थिइन्। गएको वर्षदेखि नै चोटको समस्यामा रहेकी पुलिस क्लबकी कामना विष्ट पनि चोटबाट फर्कने प्रयासमा नै छिन्।
खेलाडीको चिन्ता
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि नेपाली महिला भलिबल टिमले विश्राम नै पाएका छैनन्। हुन त त्यो भन्दाअघि कात्तिकमा बंगलादेशमा भएको प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जिन्तु भन्दा अघिदेखि नै खेलाडीहरु लगातार ब्यस्त छन्।
लामो समय व्यस्त रहेको नेपाली महिला खेलाडीले पुसबाट राष्ट्रिय प्रतियोगिता खेल्न थाल्यो। न्यु डायमण्ड कप, एनभिए कप, ढोरपाटन लिग हुँदै चौथो दिदिबहिनी कपसम्म आइपुग्दा राष्ट्रिय टिमका तीन खेलाडी गम्भीर घाइते भएका हुन्।
आफूहरु घाइते हुनुको मुख्य कारण एकपछि अर्को प्रतियोगिता हुनु नै भएको खेलाडी बताउँछन्।
मेडिसिटीमा नियमित थेरापी गराइ रहेकी प्रतिभाको दिनचार्य नै घरको ओछ्यान र अस्पताल भएको छ। सरस्वती र नेविकाको पनि अवस्था त्यस्तै छ। प्रतिभा भन्छिन्, ‘एकदमै दुःखाई हुन्छ। अप्रेसनपछि यसरी दुख्छ जस्तो लागेको थिएन। कहिले निको हुनु जस्तो भएको छ।’
खुट्टाको गोलिगाँठामा समस्याले विश्राम गरिरहेकी सरस्वती चौधरी अझै केही दिन विश्राम गर्नु पर्ने भएको बताउँछिन्।
‘खेलिसक्दा अलिअलि दुःखीरहेको थियो। त्यहि राति हामी काठमाडौं आयौं। बिहान उठ्दा हिँड्न पनि सकिनँ। एकदमै सुन्निएको थियो। अस्पताल गएँ। ब्याक सपोर्टर लगाइदिनु भयो। लिगामेन्ट च्यातिएको छ भनेर डाक्टरले भन्नुभयो’, सरस्वतीले सुनाइन्।
हुन त सरस्वतीको पुरानै समस्या दोहोरिएको हो। उनी साग खेलकुदको तयारीको क्रममा थाइल्यान्डमा पनि थला परेकी थिइन्। सरस्वती भन्छिन्, ‘पहिलेदेखि नै मेरो खुट्टा फ्याक्चर भएको थियो। थाइल्यान्डमा जाँदा पनि बल्जिएको थियो। त्यहि समस्या फेरि भएको हो।’
कारण के?
खेलकै दौरानमा खेलाडी घाइते हुन्छन्। स्वभाविक पनि हो। तर एकपछि अर्का खेलाडी गर्दै घाइते हुन्छ भने त्यसलाई सामान्य रुपमा ‘खेलमा यस्तो हुन्छ’ भनेर लिन नमिल्ला कि।
खेलाडी घाइते हुनुको विषयमा प्रशिक्षकका कुरा एकातिर छ भने डाक्टर र खेलाडीका कुरा अर्कोतिर।
न्यु डायमण्डका प्रशिक्षक कुमार राईले प्रतियोगिता लगातार भइरहँदा खेलाडी घाइते हुन पुगेको नभइ आकस्मिक भएको दुर्घटनाको रुपमा लिन्छन्। उनी भन्छन्, ‘लगातार प्रतियोगिता भएको कारणले गर्दा खेलाडी घाइते भएका होइनन्। तालमेल नमिल्दा आकस्मिक रुपमा भएको दुर्घटना हो।’
तर खेलाडीले भोग्नु परेको पीडा र गुज्रिनु गरेको समस्याको मुख्य जड अव्यवस्थित प्रतियोगिता र खेल तालिका कै हो। एउटा प्रतियोगिता सकिएको ३-४ दिनमै खेलाडी अर्को प्रतियोगिता खेल्न तयार हुनु पर्छ। खेलाडी शारीरिक रुपमा मात्रै हैन मानसिक रुपमा पनि खेल्न तयार हुनु सहज छैन।
मेडिसिटी अस्पतालमा प्रतिभाको थेरापी गराई रहेका डाक्टर जयराम महर्जन लगातार प्रतियोगिता खेल्नुको परिणाम र आराम नपाउनुनै चोटको मुख्य कारण भएको बताउँछन्।
‘एकपछि अर्को प्रतियोगिता तत्कालै भइरहेको कारण यस्तो भएको हो। खेलाडीलाई विश्राम चाहिन्छ। फिट भएको जस्तो लागे पनि शरीरको कुनै न कुनै भागलाई विश्राम चाहिँ खोजिरहेको हुन्छ।’
सरस्वती र नेविका बिनै नेपालगञ्जमा हुने प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको तयारीमा जुटेको एपिएफका टिम म्यानेजर विजय केसी पनि प्रतियोगिताको कार्यतालिका वैज्ञानिक नभएको दाबी गर्छन्।
एकपछि अर्को प्रतियोगिता खेल्दा आफ्ना खेलाडी गम्भीर घाइते भएको उनको बुझाई छ।
‘हामीले आयोजकहरुलाई पहिले नै गुनासो गरिसकेका थियौंँ। एकपछि तत्काल अर्को खेल सुरु भयो। खेलाडीले विश्राम नै पाउँदैनन्। कम्तिमा १५ दिनको विश्राम भइदिएको भए राम्रो हुने थियो। म्यानेजर केसी थप्छन्, ‘मैदानको अवस्थाले पनि धेरै कुरामा अर्थ राख्छ। आउटडोरमा खेल्नु पर्दा समस्या त आउँछ नै।’
त्यसो त, नेपालमा मंसिरदेखि चैतसम्म भलिबल प्रतियोगिता धमाधम सुरु हुन्छ। यहि अवधिमा १२-१३ वटा प्रतियोगिता त्यहि ६ देखि ८ वटा टिमले खेल्ने गर्छन्। खेलाडीहरु पनि उही। आरामको समय त निकै पर हुन्छन्। कतिपय प्रतियोगितामा त सामान्य ‘मेडिकल टिम’ समेत हुँदैनन्। कोर्टको कमजोर अवस्था त छँदैछ।
यस्तोमा नेपाल भलिबल संघ भने आयोजकको मिति अनुमोदन गर्दै प्रतियोगिता आयोजना स्वीकृत गर्नमा मख्ख छ। स्तरीय र खेलाडीको स्वस्थ्यलाई ख्यालमा राखेर प्रतियोगिता आयोजनाका लागि संघले सर्त पनि राख्ने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।