काठमाडौं– नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशीबीच बिहीबार विवाह भएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बिहीबार काठमाडौंको माया मनोहर बुटिक होटलमा विवाह गरेका हुन्।
विवाह समारोहमा परिवारका सदस्य बाहेक सिमित पाहुनालाई मात्र आमन्त्रण गरिएको थियो। तीन वर्षअघिदेखि यी दुवै प्रेम सम्बन्धमा थिए। बिहीबार नै प्रियंकाको जन्मदिन पनि हो।
फागुनको साता यी दुवैले फागुन १५ मा विवाह गर्ने घोषणा गरेका थिए। विवाह मिति घोषणाअघि प्रियंकालाई उनका साथीहरुले बैंककमा ब्याचलर्स पार्टी दिएका थिए।
आयुष्मानका साथीहरुले गत सातामात्र उनलाई पोखरामा ब्याचलर्स पार्टीको आयोजना गरेका थिए।
प्रियंकाको यो दोस्रो विवाह हो। अमेरिका बसाइको क्रममा उनको पहिलो विवाह भएको थियो। पहिलो विवाह कानुनी रुपमा टुंगिएपछि उनी नेपाल फर्किएर चलचित्र क्षेत्रमा सक्रिय भएकी थिइन्।
चलचित्रमा अभिनय गर्नेक्रममा आयुश्मानसँग नजिकिएका उनीहरु बाल्यकालदेखि नै परिचित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।