संखुवासभा– गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवम् पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी—गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ।
स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी–गुफापोखरी सडकखण्डअन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको हो।
चैनपुर नगरपालिकाको १५ लाख रुपैयाँ बजेटबाट सो खण्डको करीब ९ किमी सडकमध्ये ५ किमी धुले सडक निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान लिम्बूले जानकारी दिए।
लिम्बूका अनुसार एक हप्ताभित्र बाँकी रहेको ३ किमी सडकलाई पूरा गरी पर्यटकीय स्थल गुफापोखरीलाई जोडिने भएसँगै गुफावासीमा उत्साह छाएको छ।
वार्षिकरुपमा हजारौँको संख्यामा पर्यटक भित्रने सो पर्यटकीयस्थल गुफापोखरी आवतजावत गर्ने आन्तरिक एवम् बाह्य पर्यटकलाई यो सडक निर्माण कार्य सम्पन्न भएसँगै आवतजावतमा सहज हुने बताइएको छ।
आगामी चैत २८ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पैदलयात्रा गर्दै गुफापोखरी आउने कार्यक्रम छ। सो भ्रमणले गुफापोखरीको पर्यटन प्रवद्र्धनका आलावा यस क्षेत्रको विकास हुनेमा स्थानीयवासीहरु आशावादी रहेको स्थानीय हरि खनालले बताए।
उनका अनुसार १५ दिनअघि सो क्षेत्रमा १ हजारभन्दा बढी पर्यटक भित्रिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।