काठमाडौं– शव ओसारेकोदेखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गर्ने डिएसपीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाका तत्कालीन डिएसपी प्रहरी त्रिलोकबहादुर चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्रीविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।
उनीहरू ४ जना मिलेर सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, लास ओसारेको भनी नक्कली विल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोजदेखि २०७३ असारसम्म ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ।
लास आसारेको, तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च ३० लाख ९० हजार ५ सय ८ रुपैयाँ र हुँदै नभएको सिपाही ईश्वरी श्रीश भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको ६९ हजार ५१ रुपैयाँ सरकारी रकम निकाली भ्रष्टाचार गरेका थिए।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लाको त्यतिबेलाको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको पाइएको अख्तियारले जनाएको छ।
प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्मस् भन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा शाहीले बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाएको भन्दै अख्तियारले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।