काठमाडौ- उच्च अदालत पाटनले विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका सिन्धुपाल्चोकका एक शिक्षकलाई थुनामा पठाउने आदेश गरेको छ।
उच्च अदालतका न्यायाधीशद्वय रामप्रसाद ओली र नातीबाबु लामिछानेको इजलाशले चासुना देवि आधारभूत माविका शिक्षक राजु कुँवरलाई जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
आफ्नै विद्यालयको एक विद्यार्थीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत सिन्धुपाल्चोकमा विचाराधीन एक मुद्दामा उच्चले यस्तो आदेश गरेको थियो।
सुनकोशी गाउँपालिकामा रहेको उक्त विद्यालयमा शिक्षक कुँवरले कक्षा कोठामा पनि पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको र एक पटक बलात्कारको प्रयास गरेको भन्दै एक विद्यार्थीले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्दै जिल्ला अदालतमा मुद्दा चलाएको थियो।
उक्त मुद्दामा सुनुवाई गर्दै जिल्लाले असोज २९ गते धरौटी माग गर्ने आदेश गरेको थियो। जिल्ला अदालतले मागेको धरौटी बुझाएर उनी रिहा भएपछि सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
उक्त निवेदनमा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वयले धरौटीमा छोड्ने निर्णय बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।