काठमाडौं– सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने २८ वर्षीय रमेशबहादुर कटुवाल, २८ वर्षका प्रकाश कटुवाल, २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन्।
रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको बिषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आएको थियो।
त्यसपछि उक्त अनुसन्धानबाटै ललितपुर महानगरपालिका–१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्पसहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो।
उनीहरुमाथि सरकारी छाप किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।