काठमाडौ- जिल्ल्ला अदालत काठमाडौले नेपाली युवतीलाई बलि दिन भारतमा लैजाने प्रयास गरेको आरोपमा मुद्दा दायर भएका ७ जनामध्ये ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला अदालतले गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई मात्र धरौटीमा छाड्ने आदेश दिएको छ।
उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
जिल्लाले थुनामा पठाउन आदेश दिएकामा विराटनगरका ५१ वर्षीय दिलिप पोद्दार, नवलपरासीको कावासोतीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीको राजविराजका ४० वर्षीय उमेश शाह, दाङको घोराहीका २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरीको सप्तकोसीका ३५ वर्षीय उमेश माझी, धादिङको झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र सुनसरीको गढी गाउँपालिकाका ३७ वर्षीय रञ्जितकुमार चौधरी छन्।
एक मोडललाई सुटिङका लागि विराटनगर जानुपर्ने बताइए पनि भारत लैजाने प्रयास भएपछि प्रहरीले ‘स्टिङ अप्रेसन’मार्फत आरोपितलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दुई जना महिला पनि थिए।
विराटनगर लैजानुअघि ती पीडित युवतीलाई न्युनतम ६ फिट उचाई, कुमारी भएको हुनुपर्नेलगायत विषयमा पटकपटक चासो राखिएपछि उनले प्रहरीमा उजुरी गरेकी थिइन्। तर आरोपितको योजनाअनुसार अघि बढ्न प्रहरीले ती युवतीलाई सुझाव दिएको थियो।
विराटनगर पुर्याएपछि सीमानजिकै पुजा गरेको भिडियो खिच्नुपर्ने बताइएपछि प्रहरी थप सशंकित भएको थियो। नेपाल–भारतको सिमाना पार गर्न लाग्दा पीडित युवतीको उद्धारसँगै आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।