काठमाडौ– सेक्युरिटी प्रेस स्थापनाका लागि घुस डिल गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध दोस्रो उजुरी दर्ता भएको छ।
निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरूङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेलविरूद्ध भ्रष्टाचारमा अनुसन्धान माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो।
बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भूउपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनाविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन्।
अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चारमन्त्री बाँस्कोटाको अडियोटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए।
सार्वजनिक अडियोमा बाँस्कोटाले ७० करोड कमिसन डिल गरेका सुन्न सकिन्छ।
प्रधानमन्त्री ओलीले उक्त अडियो डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानबिन गर्न माग गरिएको छ।
प्रधानमन्त्रीसहित चारै जना सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भू-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अर्बौं भ्रष्टाचार गरेको पाइएको दाबीसहित उक्त उजुरीमा अनुसन्धान गरी मुद्दा चलाएर सजाय गर्नसमेत माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।