जनकपुरधाम- अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा शुरू भएको छ।
फागुन शुक्ल प्रतिपदामा सुरू भई फागुन शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका हुन्।
हेलिकोप्टरबाट मिथिलाविहारी मन्दिर पुगेका अध्यक्ष ‘प्रचण्ड'ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए।
यो पदयात्रा विश्वको लामो धार्मिक पदयात्राका रुपमा समेत मानिँदै आएको छ।
मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ। मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ।
नेपाल र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन्।
‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ। सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो। हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ। परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ। प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ।
यसलाई षोडशोपचार पूजाको अङ्ग मानिएको छ। वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ।
यज्ञ, मन्दिर, नदी, पवृत तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्था अनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरको क्षेत्रमा पदयात्रा गरिन्छ। परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ। अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुनेहरू ब्रह्मचर्य जीवन पालन गर्नुपर्ने हुन्छ।
इतिहासकारका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो। पहिले यस मार्गमा जङ्गल थियो । हाल बस्ती रहेको छ। अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ। अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले। उहाँ कचुरी पठका महन्त थिए। त्यसैबेलादेखि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो। परिक्रमापथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ।
यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिलाबिहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ। त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशीष लिने चलन छ।
परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ। परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ।
भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैँ भक्तिभावमा लीन हुने चलन छ। प्राचीन समयमा जानकीमाता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ।
गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ। मटिहानी जानकीमाताको विवाहमा मटकोर गरिएको ठाउँले ख्यातिप्राप्त गरेको हो। मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन्।
मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ। पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ। उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ। यहाँबाट धु्रवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ। उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ। इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो।
कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ। यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ। परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ। दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालुहरू बास बस्छन्। यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ।
त्यसपछि औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ। यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ। चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तगृह परिक्रमा गरी मेला सम्पन्न हुन्छ। परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।