नेपालगन्ज– धेरै ब्याज दिने प्रलोभन देखाएर नेपालगन्ज गणेशपुरकी मीना सिजापतिले करोडौं रकम ठगी गरेर बेपत्ता भएको भन्दै १० जना पीडितले सहयोगका लागि आग्रह गरेका छन्।
बिहीबार सामूहिक पत्रकार सम्मेलन गरेर पीडितहरुले आफूहरुको रकम असुलीका लागि सहयोग गरिदिन आग्रह गरेका हुन्।
सिजापतिले आफ्नो छोरालाई विदेश पढ्न पठाउनका लागि पैसा आवश्यक परेको जनाउँदै मासिक सयकडा ५ का दरले ब्याज दिने प्रलोभनमा पारेर विगत ५ वर्षदेखि विभिन्न व्यक्तिबाट ४ करोड ७९ लाख लिएर बेपत्ता भएको पीडितहरुले दाबी गरेका छन्।
सिजापतिले सुरुमा १–२ लाख रकम लिने र त्यसको साँवा–ब्याज पनि तिर्ने र विश्वासमा पारेर धेरै रकम लिने र अनेकौं बहाना बनाएर तिर्छु भन्दै आलटाल गर्ने गरेको पीडित महिला सुशीला पौडेलले बताइन्।
पीडित महिलाहरुले नेपाल प्रहरीमा उजुरी गर्दा प्रहरीले आर्थिक लेनदेनको विषय भएको जनाउँदै निवेदन लिन नमानेको पौडेलले गुनासो गरिन्।
अहिले कारोबारमा समस्या भए पनि २–४ महिनामा तिर्छु भन्दै सम्पर्कमा नआएकी सिजापतिले धेरै जनालाई बैंकको चेक र कपाली तमसुक गरेकी थिइन्। सिजापतिले दिएका लाखौं रकमका दर्जनौं चेक नसाटिएको पीडितहरुले गुनासो गरे।
पौडेलले भनिन्, ‘राम्रो ब्याज आउने भएपछि घरमा पनि खासै सल्लाह नगरी पैसा जम्मा गरेर दियौं। आफ्नै घरको, आफन्त तथा नातेदारबाट लाखौं रकम उठाएर सिजापतिलाई दिए पनि लामो समयसम्म रकम नउठेका कारण पारिवारिक तनावसमेत बढेको छ।’
नेपालगन्जबाट दर्जनौं व्यक्तिको रकम दिएकी सिजापति भने भागेर भारतमा गई लुकेर बसेको पीडितहरुले दाबी गरेका छन्। सिपापतिबाट ठगिनेहरु मध्ये अधिकांश महिला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।