काठमाडौं- नेपाल प्रहरीलाई सिट्ठीको अभाव पार्ने ठेकेदारलाई कालो सूचिमा राखिएको छ।
गत वैशाख २५ गते सिट्ठी र पेटीको बक्कल आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले बोलपत्र आह्वान गरेको थियो।
प्रहरीलाई चाहिने सिट्ठी कर्डसहितको ८ हजार ५ सय थान सिट्टी र ५ हजार थान पेटीको बक्कलका लागि दामोदर दुलालको श्रीदेव सप्लायर्सले ठेक्का लिएको थियो।
८ हजार ५ सय थान सिट्ठीका लागि १० लाख ३ हजार र ५ हजार बक्कल १६ लाख ९० हजारमा उक्त सप्लार्यसले ठेक्का लिएको थियो।
तर निर्धारित समयसम्म पनि उपलब्ध नगराएपछि प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग, प्रबन्ध निर्देशनालयले श्रीदेव सप्लायर्सलाई कालो सूचिमा राख्नुपर्ने भन्दै गत भदौ ८ मा सिफारिस गरेको थियो।
प्रहरीको सिफारिसमा सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले फागुन ५ गते श्रीदेव सप्लायर्सलाई १ वर्षसम्म कालो सूचीमा राखेको छ। उक्त सामान खरिद सम्झौता भएपछि राखिएको १ लाख ४३ हजार ६ सय ५० रुपैयाँ जमानत समेत जफत गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।