काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका गृहसचिव न्यौपानेले भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्।
निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरीलाई निर्देशन सम्बोधनको क्रममा मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यका साथै आतकंवाद एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण निर्देशन दिए।
त्यस्तै अपराध न्यूनिकरणलगायतका गतिविधिहरुमा नेपाल प्रहरी प्राप्त म्यान्डेटअनुसार क्रियाशील रहेको चर्चा गर्दै समाजका विकृति निर्मूल गर्न थप उत्प्रेरित भएर जिम्मेवारी बहन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
प्रहरी कर्मचारीहरुले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भने, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिकाजस्ता कुराहरु थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ।’
संगठनको शीर झुकाउने प्रवृत्तिविरुद्ध सबै एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै उनले संगठनको नीतिविपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कानूनी दायरामा ल्याइने बताए।
नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी अनुरुप अपराध नियन्त्रणका साथै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न निभाएको भूमिका एवं योगदानको उच्च मूल्याङ्कन गर्दै गृहसचिव न्यौपानेले संगठनको सुधारको लागि सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुले आ-आफ्नो क्षमताअनुसार जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
काममा थप प्रभावकारिता, उपलब्ध साधनस्रोत व्यवस्थापनमा चुस्तता कायम गर्दै चौकीदेखि उच्च तहसम्म समन्वयात्मक रुपमा कुशलतापूर्वक अगाडि बढ्नुपर्ने उनले चर्चा गरे।
नेपाल प्रहरी संगठनलाई अझै सुसज्जित र क्षमतावान बनाउँदै प्रहरी कर्मचारीहरुको वृत्तिविकास एवं क्षमता अभिवृद्धि गर्ने काममा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव क्रियाशील रहने उनले उल्लेख गरे।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।