काठमाडौं- चाचान हत्याकाण्डका दोषी निरज केसीलाई सरकारले कैद मिनाहा गर्दै रिहा गरेको छ।
प्रजातन्त्र दिवसका अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोषी केसीलाई कैद आममाफी गरेकी हुन्।
कैद माफी भएसँगै उनी बुधबारै कारागारमुक्त भइसकेका छन्।
केसीको संलग्नतामा २०६७ चैत २७ गते भारत राजस्थान घर भई काठमाडौंमा व्यापार गर्दै आएका अञ्जनीकुमार चाचनको गणबाहलमा गोली हानी हत्या भएको थियो।
उक्त हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं भिमसेनगोलाका केसीलाई २०७१ भदौमा धरानबाट पक्राउ गरेको थियो।
अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय सुनाएको थियो।
केसीसहितको समूहले २०६५ सालदेखि संगठित समूह बनाई काठमाडौंका विभिन्न ठाउँमा लुटपाट तथा हत्या गरेको आरोप लागेको थियो।
२०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई ५ लाख लुटपाट, २०६७ कात्तिकमा ठमेलका ४२ वर्षीय बौद्ध भिक्षु निमा लामालाई गोली प्रहार गरी उनको साथमा रहेको १० लाख लुटपाट, २०६७ चैत १० गते टेुकको एक्साइड ब्याट्री कम्पनीमा काम गर्ने कामदारमाथि गोली प्रहार र चाचन हत्यामा उनको संलग्नता भन्दै प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।