काठमाडौं– केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘राष्ट्रिय विपद् व्यवस्थापन कोष’ राख्ने निर्णय भएको छ।
गृह मन्त्रालयमा बसेको कोषको बैठकले नाम परिवर्तन गरेको हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल, विभिन्न मन्त्रालयमा पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको कोषको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो।
यसैगरी बैठकले क्षेत्रीय दैवी प्रकोप उद्धार कोष खारेज गरी सातै प्रदेशमा प्रदेश व्यवस्थापन कोष स्थापना गर्ने तथा जिल्ला दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी जिल्ला विपद् व्यवस्थापन कोष राख्ने निर्णय गरेको छ।
बैठकले सुख्खा मौसम, हावाहुरी र पूर्व मनसुन लगायतमा देखिने समस्या समाधान गर्न यससँग सम्बन्धित सरकारी र गैरसरकारी निकायले आफ्नो स्रोत-साधन चालू अवस्थामा राख्ने र आवश्यक परेको अवस्थामा तत्कालै परिचालन गर्ने निर्णय समेत गरेको छ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७४ तथा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–३० को मस्यौदालाई विपद् जोखिम न्यूनिकरण राष्ट्रिय कार्याञ्चको बैठकको राय सुझावलाई स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। विपद् व्यवस्थापनमा नागरिक समाज र जनतालाई समेत जोड्नसक्ने गरी कार्यक्रम बनाउन उनले बैठकमा निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।