काठमाडौं– पाँच महिनाअघिसम्म प्रतिनिधिसभामा कृष्णबहादुर महरा सभामुख थिए, शिवमाया तुम्बाहाङ्फे उपसभामुख।
१ सय ४२ दिनअघि एकाएक तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयासको अभियोग लाग्यो।
जघन्य आरोप लागेपछि महराले सभामुखबाट राजिनामा दिए। सांसदबाट निलम्बित भए र जेल समेत बस्नुपर्यो।
महरा बलात्कार आरोपमा जेल परेपछि सभामुख खाली भयो। उपसभामुख तुम्बाहाङ्फेले केही समय संसदको नेतृत्व गरिन्।
तर, सभामुख हुने उनको चाहना उनको पार्टी नेकपाले पूरा गरिदिएन। अग्नि सापकोटा सभामुखका उम्मेदवार भएपछि ‘एकै पार्टीबाट सभामुख उपसभामुख हुन नपाउने’ संविधानको प्रावधानअनुसार राजिनामा दिनुपर्यो। तुम्बाहाङ्फेले विना गल्तिको सजाय पाएको धेरैको मत थियो।
महरा र तुम्बाहाङ्फेको जीवनमा सोमबार अनौठो संयोग जुरेको छ। सामान्य नजरियाबाट नियाल्दा दुवैले ‘न्याय’ पाएका छन्। महराले उनीमाथि लागेको आरोपबाट सफाइ पाए। तुम्बाहाङ्फेले उपसभामुख गुमाएको सट्टा मन्त्री पद पाइन्।
उनीहरुको जीवनमा खुशी फर्किएको छ। तर, उनीहरूकाे पुरानाे पदीय हैसियत फर्केन। यी दुई राजनीतिज्ञ ‘निर्दोष’ ठहरिए पनि परिस्थितिले गुमाउनेहरुको कित्तामा पुर्यायो।। महराको सभामुख पद रहेन । मात्र सांसद भए । तुम्बाहाङ्फेले उपसभामुखबाट मन्त्रीमा चित्त बुझाउनु पर्यो।
धेरैले उनीहरुमाथि न्याय भएको प्रतिक्रिया दिइरहेका छन्।
तर, सम्माननीयबाट माननीय मात्रै भएका उनीहरुले महशुस गरिरहेका होलान् आफूहरुमाथि न्याय भयो कि अन्याय? संयोगले जे भएपनि एकैदिन भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।