भक्तपुर– हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदेबालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।
बुधबार अपरान्ह चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो।
असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, बन्दागोपी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काँक्रो, घिरौँलालगायत तरकारी बालीमा क्षति पुर्याएको झौखेलका किसान रामसुन्दर श्रेष्ठले बताए।
ताथलीका कृषक सुभद्रा बस्नेतले यहाँ लगाएको आलु र गहुँ बाली कामै नलाग्ने गरी असिना पानीले नष्ट गरेको गुनासो गरिन्। छालिङका सुमन दथेपुथेले एक फिट जम्ने गरी परेको असिनाले तरकारी र भित्र्याउन तयार गहुँ बाली पूर्णरुपमा नष्ट भएको जानकारी दिए।
असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि किसानहरुले क्षतिपूर्ति माग गरेका छन्। अधिकांश किसानले असिनाले लाखौँको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।
जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्याएको भन्ने जानकारी आए पनि कहाँ, कति मात्रामा क्षति भयो भन्ने विवरण आइनसकेको बताइन्।
कृषि विकास कार्यालयले भन्दा पनि अब नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने र किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताइन्। उनले नगरपालिकामा कृषि कार्यालयको जिम्मेवारी गइसकेको अवस्थामा नगरपालिकाले क्षतिको विवरण संकलन र व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।