काठमाडौं- ललिता निवास प्रकरणमा विशेष अदालतले थप १५ जनालाई अदालत उपस्थित हुन म्याद पठाएको छ। स्थायी ठेगाना रुजु गरी थप १५ जनालाई १५ दिनभित्र अदालत उपस्थित हुन अदालतले म्याद तामेल गर्न पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए।
ललिता निवास प्रकरणमा १ सय १० जना प्रतिवादीमध्ये हालसम्म २९ जना प्रतिवादीको म्याद विशेष अदालतले तामेल गर्न पठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ पूर्वमन्त्रीसहित ३ पूर्वसचिव, भुमि सुधार विभागका तत्कालीन महानिर्देशक, मालपोत कार्यालयका पूर्वकर्मचारी र नक्कली मोही निर्माण गर्ने बिचौलियाहरू विरुद्ध मुद्दा दायर गरेको थियो।
आइतबार म्याद जारी हुनेमा अधिकांश मालपोत कार्यालयका कर्मचारी छन्। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख हरिकृष्ण तिमल्सिना, खरिदार श्याम कुमार श्रेत्री, शाखा अधिकृत कृष्णप्रसाद पोखरेल, नासु प्रकाश नारायण भट्ट, टंकनाथ पौडेल, प्रेम बहादुर खापुललगायत छन्।
यसअघि विशेषले १४ जनालाई अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। विशेषले म्याद पठाउनेमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टीकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बिसी, मालपोत कार्यालय काठमाडौंका खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनी थिए।
आरोपपत्रमा उल्लेख भएका व्यक्तिहरूको ठेगाना रुजु गर्ने काम भइरहेकाले आइतबारदेखि थप आरोपितको म्याद जारी गर्ने उनले बताए। गत बुधबार विशेषले भूमिसुधार विभागका महानिर्देशकसहित डिल्लीबजार मालपोतका तत्कालीन ७ कर्मचारीलाई म्याद जारी गरेको थियो।
ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, भूमि तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लीबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठका ठेगानामा म्याद जारी गरेको थियो।
बालुवाटार जग्गा प्रकरणमा अख्तियारमा बयान दिइरहेका समयमा पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए। गत साउन १३ गते उनले काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम्फालेर आत्महत्या गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।
ठेगाना नमिल्दा समस्या
म्याद तामेलीमा अख्तियारले दावी गरेको ठेगानामा सम्र्पक हुन नसक्दा विशेष अदालतलाई समस्या भईरहेको पाण्डेले बताए। अख्तियारले प्रतिवादीहरु फरार देखाएर मुद्दा दायर गरेको र उनीहरूको स्थायी ठेगानामा रुजु गर्दा नमिलेपछि म्याद पठाउन असहज भइरहेको उनले बताए। अख्तियारले दाबी गरेको स्थायी ठेगानमा केही व्यक्तिको ठेगाना नमिलेको र मिल्नेहरूको म्याद तामेल भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।