काठमाडौं- एसिसी टि–२० पूर्वीय क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको लागि नेपाली टिमको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।
नेपाली टिममा भुवन कार्कीले पुनरागमन गरेका छन्। नेपाली टिममा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सनदीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।
मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने म्यानेजरमा माधव कुमार कर्माचार्य छन्।
एसिसी टि–२० पूर्वीय क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता यहि फागुन १७ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुँदैछ।
प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, हङकङ, मलेसिया, सिंगापुर, म्यानमार र भुटान रहेका छन्। प्रतियोगिताका विजेता र उपविजेताले एसिया कप छनोट खेल्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।