काठमाडौं- बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।
साेमबार जिल्ला अदालत काठमाडौंले निर्दोष रहेको फैसला सुनाएको हो।
दुवै पक्षबाट भएको बहस आइतबार सकिएकाे थियाे। साेमबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष भएको फैसला सुनाएको हो।
आइतबार महराका पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।
महरा पक्षका कानुन व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।
त्यसपछि अनुसन्धान गर्दै जाँदा बलात्कार प्रयासको मुद्दा दर्ता गरिएको हो। उनलाई अदालतले कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए।
धरौटीमा छुट्ने आस गर्दै उच्च अदालत पाटनसम्म महरा पुगे पनि उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो।
सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका थिए।
उनले आफू बलात्कारका लागि नभई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गर्दै आएका थिए।
महराले आरोपीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबीसमेत बयानदेखि नै गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।