अछाम- अछाम सदरमुकाम मंगलसेनमा तत्कालीन विद्रोही नेकपा माओवादीले गरेको आक्रमणको १८ वर्ष पुगेको छ।
द्वन्द्वरत माओवादीले ०५८ फागुन ४ गते राती ११ बजेतिर एकाएक मंगलसेनमा भीषण आक्रमण गरेका थिए।
‘अब त केही हुन्न होला भन्ठानेर सुत्ने तरखरमा लाग्यौं। बाहिर ढाङढाङ बम पडकेको आवाज आयो। बालबच्चालाई काखमा च्यापेर हत्तपत्त खाटमुनि पसेर र रातभर मर्दामर्दै बाचेँ,' फागुन ४ गते रातिको भीषण आक्रमणको स्मरण गर्दा स्थानीय शिक्षक नरबहादुर रावल सझन्छन्। जिल्ला प्रहरी कार्यालयमा बम पड्किएको क्षणभरमै सबै कार्यालय एकैसाथ जलेको उनले प्रत्यक्ष देखेका थिए।
सुरुमा एकतर्फी भएको आक्रमण ब्यारेकबाट सेना आएर बाहिर दोहोरो लडाइँ भएको होला भन्ने कल्पना उनले गरेका थिए। तर बिहान उनको सोचेको भन्दा उल्टो थियो त्यहाँको वस्तुस्थिति ।
‘बिहान उठेर हेर्दा सैनिक ब्यारेक त सुरुमै ध्वस्त भएको रहेछ,' रावलले घटनाको रात सम्झँदै भने, ‘बिहान हेर्दा जताततै लासहरुको थुप्रो थियो। कार्यालयहरुबाट जलेको धुवामात्र निस्किरहेको थियो।'
घटनामा १ सय ३७ जनाले ज्यान गुमाएका थिए। माओवादी आक्रमणबाट प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिएका थिए। राष्ट्रिय अनुसन्धानका निरीक्षक र उनकी पत्नीको समेत मृत्यु भएको थियो। तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म पनि ध्वस्त भएको थियो। गुल्मका क्याप्टेनसहित ५३ जना सेनाले ज्यान गुमाएका थिए।
घटनाबाट उम्कन सफल भएका एक सिपाही गोठालोको भेषमा थप मद्दतका लागि आएका सेनाको सम्पर्कमा बिहान मात्र पुगेका थिए। उनले आक्रमणको सम्पूर्ण बेलिविस्तार लगाएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाका ५३, प्रहरीका ५९, निजामतीका २ र सर्वसाधारण ८ जनासमेत गरी मंगलसेनमा १ सय २२ जना मारिए। विमानस्थल सुरक्षामा साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै राति माओवादीबाट मारिएका थिए।
सबै कार्यालय एकैसाथ जल्दा मंगलसेन धुवाँमय भएको थियो। बिहान घामको झुल्को आउने बेलासम्म माओवादी छापामारहरू सरकारी कार्यालयमा आगो दन्काउँदै थिए। कतिपय कार्यालय सातासम्म जलिरहे। सुरक्षा निकायलाई कब्जामा लिएपछि माओवादी छापामार सर्वसाधारणका कोठा–कोठामा पसेर खानतलास गरेर स्थानीयहरुलाई धम्काएका थिए। घरेलु उद्योग, मालपोत, बैंक, कोष तथा लेखा नियन्त्रकको कार्यालय, खाद्य संस्थान र जिल्ला प्रहरी कार्यालय सँगसँगै थिए। यी सबै सरकारी कार्यालय जलाएर उनीहरु बिहान ९ बजेतिर माओवादीको विजय भएको नारा लगाउँदै बाटो लागेका थिए।
सेनाले पनि छोडेन
माओवादीहरू विजयको जुलुस लगाएर बाहिरिएलगत्तै थप मद्दतका लागि नेपाली सेनाको हेलिकोप्टर आयो। जलिरहेको बजारलाई फन्को लगाएर सेनाको हेलिकम्पटर बजारभन्दा तल बसेको थियो।
हेलिकोप्टरबाट झरेका सैनिकले अन्धाधुन्ध गोली बर्साउँदै बजार प्रवेश गरे। मद्दतका लागि आएका सेनाको व्यवहारले माओवादी हमलाबाट बाँच्न सफल मंगलसेनबासीलाई अर्को विपत्ति थपियो।
काठ चिरान गर्ने र सडक खन्ने ज्यामी दुई जनालाई सेनाले आफ्नै आँखा अगाडि ढालेको एक स्थानीयको भनाइ छ। ‘आक्रोशित सेनाबाट कुटाइ नखाने थोरै थिए होलान्,' एक स्थानीयले भने, ‘आक्रमणमा बाँचेका डिएसपी र जिविसका पूर्वसभापति कृष्णप्रसाद जैसीले सेनालाई सहजीकरण गरेपछि धेरैको ज्यान जोगिएको थियो।’
१८ वर्षअघिको त्यस रातलाई सम्झँदै मंगलसेनबासी अहिले पनि भक्कानिन्छन्। कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भएको स्थानीयहरूको भनाइ छ। 'भएभरका सरकारी संरचना नष्ट भए। भयावह मानवीय क्षति भयो। जायजेथा गुम्यो। बैंकमा राखेको नगद र गरगहना माओवादीले लुटेर लगे। नागरिकसँग जग्गा भए पनि प्रमाण नष्ट भएको थियो। अछाम पूरै तहसनहस भयो। अझसम्म त्रास कायमै छ।'
पहुँच पुर्याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले फिर्ता पाएका छैनन्।
जग्गाधनी प्रमाण नभएकाले बैंकमा अझै कारोबार गर्न पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।