काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र सानेपास्थित उनको घरमा काम गर्ने युवक विजय चौधरीको ज्यान जाने घटना भएको आइतबार एक हप्ता पुग्यो। अनुसन्धानले कार्कीको हत्या अनी चौधरीको आत्महत्या भएको पुष्टि भयो।
कार्की र चौधरीको शवको पोस्टमार्टमका आधारमा हत्या र आत्महत्या देखियो।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार कामदार चौधरीको ह्याङ्गिङका कारण र कार्कीको घाँटी दबाइएका कारण मृत्यु भएको उल्लेख छ। रिपोर्टअनुसार हत्या र आत्महत्या भन्ने खुले पनि कारण खुल्न सकेको छैन।
घटनाको प्रकृतिको आधारमा कार्कीको हत्या गरेर चौधरीले आत्महत्या गरेको निष्कर्ष देखिन्छ प्रहरीको। प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण संकलन गरेको थियो। तर निष्कर्षलाई सघाउने थप प्रमाण फेला परेको छैन।
घटनास्थलको अवस्था र पोस्टमार्टम रिपोर्टका आधारमा चौधरीले कार्कीको घाँटीमा नाइलनको डोरी बेरेर कसेर त्यसपछि पिर्काले हानेर हत्या गरेको निष्कर्ष प्रहरीको देखिन्छ। प्रहरीको निष्कर्षअनुसार त्यसपछि उनले आत्महत्या गरेका थिए।
घटनास्थलको अवस्थाले नै बिना कारण कार्कीको हत्या भएको देखाउँदैन। घटनास्थलका दृष्यले यो योजनाबद्ध भन्दा आवेशप्ररित देखाउँछ। घटना अगाडि के भएको थियो र चौधरी हत्या र आत्महत्याको मोडमा पुगे भन्ने खुल्नै सकेको छैन।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा चौधरीले नै आत्महत्या गरेकाले यसको कारण खुलाउन गाह्रो भइरहेको बताउँछन्।
मोबाइलको भर
पोस्टमार्टम रिपोर्टसँगै प्रहरीले दुवै जनाको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। फरेन्सिक जाँचमा ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर विश्लेषण गर्ने गरिन्छ। फरेन्सिक जाँचमा मोबाइलमार्फत् आदानप्रदान भएका म्यासेज, कल डिटेल, अडियो, भिडियो, फोटालगायतका सामग्री रिकभर हुने गर्छ।
यी तत्थहरुको विश्लेषण गरेर रिपोर्ट सार्वजनिक हुने गर्छ। दुवैमध्य कसैको मोबाइलमा घटनाको कारण खुल्न सक्ने तथ्य फेला पर्छ कि भन्ने आशमा देखिन्छ प्रहरी। फरेन्सिक ल्याबबाट रिपोर्ट आइसकेको छैन।
त्यसैगरी शंकास्पद मृत्यु भएका व्यक्तिको भिसेरा जाँचसमेत गरिँदै आएको छ। यसबाट पनि हत्याबारे नयाँ तथ्य फेला पर्न सक्छ। तर भिसेराको नतिजा आउन समान्यतया तीन महिना लाग्ने गर्छ। पोस्टमार्टम रिपोर्टबाट नयाँ तथ्य नआउनु, डिजिटल फरेन्सिकको रिपोर्ट नआउनु, भिसेराको नतिजा आउने समय लाग्नु र हत्या गरेको भनिएका व्यक्तिले नै आत्महत्या गर्नुले मुना कार्कीको हत्याको कारण भने खुल्न सकेको छैन।
१० देखि ११ बजेबीचमा हत्या
घरमा भएका १२ वर्षीय छोरालाई स्कूल पुर्याउन अर्की कामदार गएको र पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथको मन्दिर दर्शन गर्न गएको मौकामा हत्या र आत्महत्या भएको थियो।
हत्या हुने दिने मुनाका श्रीमान पूर्वसचिव कार्की बिहानै पशुपतिनाथको दर्शन गर्न निस्किएका थिए। घरबाट निस्कँदा उनकी पत्नी मुना, १२ वर्षीय एक छोरा, कामदार विजय चौधरी र अर्की एक कामदार महिला पनि घरमा नै थिए।
उनले प्रदेश ३-०१ ०२२ च ०७०९ नम्बरको कार लिएर उनी ८ बजे पशुपति पुगेका थिए। करिब २ घन्टा लाइन बसेर उनले पूरा गरेका थिए। यसपछि उनी करिब ११ बजेतिर घर फर्किए। उनको घरको गेट बन्द थियो। घन्टी बजाउँदा कोही पनि आएनन्। तर बाहिरबाट समेत खोल्न मिल्ने गेट खोलेर उनी घरभित्र पसे।
दुईतले घरको भुईंतलाको भर्याङ छेउमा कामदार चौधरी घाँटीमा नाइलनको डोरी लगाएको अवस्थामा मृत भेटिएका थिए । भान्सा कोठामा श्रीमती मुना रक्ताम्य भएर लडिरहेको अवस्थामा थिइन्। ४९ वर्षीया मुनालाई उपचारको सानेपास्थित स्टार अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको थियो।
अनुसन्धानको क्रममा घटना १० बजेदेखि ११ बजेको बिचमा भएको देखिएको छ।
मनमुटाव थियो त?
चौधरीको परिवारका सदस्यले प्रहरीमा दिएको जानकारीमा चौधरी र कार्की परिवारका सदस्यविच कुनै विषयमा मनमुटाव भएको पनि देखिन्न्। उनी कार्की परिवारसँग खुसी नै थिए। कार्की परिवारले उनको सवारी चालक अनुमतिपत्र बनाइदिने तयारी गरेका थिए। उनी नियमित परिवारको सम्पर्कमै थिए र कार्की परिवारका सदस्य या मुना कार्कीको व्यवहारबारे गुनासो गरेका पनि थिएनन्। यसले समेत हत्याको कारण खुलाउन प्रहरीलाई अप्ठ्यारो परेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।