काठमाडौं- चीनमा रहेका नेपालीलाई लिन वुहान पुगेको नेपाली वायुसेवा निगमको जहाजले १ सय ७५ जना नेपाली मात्र लिएर फर्किएको छ।
वुहानबाट १ सय ८५ नेपालीको उद्धार गर्ने तयारी भए पनि अन्तिम समयमा १० जना भने चीनमा नै बसेका छन्। १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनामा भने ज्वरो देखिएका कारण नेपाल नल्याइएको हो।
ज्वरो देखिएपछि वुहान विमानस्थलका अधिकारीले उनीहरूलाई नेपाल जानबाट रोकेको थिए।
नेपालीलाई लिन शनिबार दिउँसो नेपाली सेनाका ४ डाक्टरसहित १७ जनाको टोली वुहान गएको थियो।
निगमको वाइडवडी ३३० जहाजले वुहानबाट उनीहरूलाई ल्याइरहेको हो। आइतबार बिहान ४ बजे उनीहरू नेपाल अवतरण गर्ने बताइएको छ।
उनीहरूलाई नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलबाट सोझै भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ।
सरकारले उनीहरुलाई १५ दिनसम्म राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा सम्पूर्ण तयारी पूरा गरेको छ।
क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको छ।
क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ।
ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।
तस्बिर : डा सबिर श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।