काठमाडौं- काकाकुल बन्दै गएको काठमाडौंबासीका लागी मेलम्ची खानेपानी आयोजना 'माया बैगुनी नभई नहुनी' जस्तै छ।
काठमाडौंबासीले मेलम्चीको पानी कुरेको २० वर्ष कट्यो। हरेक वर्ष सरकारले आश देखाउँछ अब त आउँछ भनेर। तर भाका सरेको सर्यै।
सरकारले चालू आवको नीति तथा कार्यक्रममा असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। तर विस २०५५ मै सुरू भएको थियो आयोजना।
आयोजनामा २८ अर्ब १३ करोड खर्च भइसकेको छ भने आयोजनाको कुल लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान छ।
०७५ मंसिर २९ मा इटालियन कम्पनी सिएमसीले आयोजना छोडेपछि ११ महिना अलपत्र परेको आयोजनाको काम गत कात्तिकबाट सुरू भएको थियो।
आयोजनाको बाँकी कामलाई दुई भागमा बाडेर अघि बढाइएको थियो। सुरूङ फिनिसिङ र हेडवर्क्स निर्माण दुवैको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएर काम गरिरहेको छ।
कम्पनीले सुरूङ फिनिसिङको ठेक्का १२ महिनामा सम्पन्न हुने गरी र हेडवर्क्स निर्माणको काम १५ महिनामा सम्पन्न गर्ने गरी गत असोजमा ठेक्का सम्झौता गरेको थियो।
तर समयसीमा अघि नै कफर ड्याम बनाएर पानी ल्याउने गरी काम भइरहेको आयोजनाले दाबी गरेको छ।
सम्झौताअनुसार टनेलको काम असार मसान्तसम्ममा र हेडवर्क्सको काम पुस मसान्तसम्ममा सक्ने सम्झौतामा उल्लेख छ।
खानेपानी मन्त्री बिना मगरले बिहीबार फेरी नयाँ भाका गरिन् असार मसान्त। उनको दाबी अनुसार माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत भइसक्यो र र अब आउने असारमा काठमाडौंका धारामा मेलम्चीको पानी खस्ने पक्का छ।
बिहीबार मेलम्ची खानेपानी विकास समितिद्वारा जारी गरिएको श्वेतपत्र सार्वजनिक गर्दै खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले धेरैलाई निराश बनाएकोमा अब भने त्यो निरासा आशामा बदलिन लागेको दाबी गरेकी हुन्।
‘मेलम्ची अब आशामा बदलिँदैछ,’ उनले भनिन्, ‘सम्झौता अवधि अगावै असार मसान्तसम्ममा पानी ल्याउने गरी काम भइरहेको छ।’
आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको दाबीअनुसार चालू आर्थिक वर्षको अन्त्यमा मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने लक्ष्य छ। मन्त्रालयले दावी गरे पनि पटक-पटक भएको धोकाले ढुक्क हुनसक्ने अवस्था भने देखिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।