काठमाडौं– गर्मीयाम शुरु भएसँगै मुलुकको २ हजार ३ सय ३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ। विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १ सय ६ वनमा आगलागी भएको हो।
सोमध्ये तनहुँको एक वन आगलागी हुँदा ३ हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको १ वनमा १ हेक्टर, सिन्धुलीमा १५ वनको ३ सय ३९ हेक्टर, मकवानपुरको १७ वनमा १ सय ६५ हेक्टर, ओखलढुंगाको ५ वनमा ८ सय ३५ हेक्टरमा क्षति भएको छ।
यसैगरी, आगलागीबाट ताप्लेजुङको २ वनमा १ सय ९५ हेक्टर, इलामको ६ वनमा ३३ हेक्टर, धनकुटाको ७ वनमा २ सय ५३ हेक्टर, रसुवाको २ वनमा ७ हेक्टर, भोजपुरको २ वनमा ८ हेक्टर, धादिङको ३८ वनमा ३ सय ३५ हेक्टर र गुल्मीमा एक वनमा ९० हेक्टरमा क्षति पुगेको छ।
विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी चल्नु तथा स्थानीय र बटुवाहरुको असावधानीले वनमा हुने आगलागी बढेको बताए। उनले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिए।
उनले आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको बताए।
यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्ने बारेमा आधिकारिक तथ्यांक आइनसकेको विभागले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।