राजविराज- सप्तरीको वोदेवरसाइन नगरपालिकाका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या गरिएको छ।
भारतको विहार स्थित झन्झारपुर गएर फर्कने क्रममा मंगलबार साँझ बोदे बरसाईन नगरपालिका-५ जाँजरका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो।
स्थानीय सत्येन्द्र यादवको ग्यारेजमा कार्यरत डम्बर ग्यारेजकै कामले झन्झारपुर गएका थिए। घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र वोदेवरसाइन-८ का अनिल यादव सँगै रहेको जनाइएको छ।
सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले नेशनल हाइवेमै गोली हानेको सुरेन्द्र र अनिलले परिवारलाई जानकारी दिएको स्थानीय लोकेन्द्र यादवले बताए।
पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको उनीहरुले बताएका छन्। डम्बरको घटनास्थलमै मृत्यु भएको थियो।
उनको शव बुधवार परिवारको जिम्मा लगाइएको छ। सुरेन्द्र र अनिल भने सकुशल छन्।
इलाका प्रहरी कार्यालय वरसाइनका सई चन्द्रबहादुर केरुङ्ले घटनाको बारेमा जानकारी पाए पनि विस्तृत जानकारी नआएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।