काठमाडौं– विशेष अदालत काठमाडौले ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका भूमिसुधार विभागका तत्कालीन महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरेको छ। बुधबार विशेषले महानिर्देशकसहित डिल्लीबजार मालपोतका तत्कालीन ७ कर्मचारीलाई म्याद जारी गरेको हो।
ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, भूमि तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लीबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका समयमा पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए। गत साउन १३ गते उनले काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।
अख्तियारले अनुसन्धान समाप्त गर्दै खरिदारको रुपमा श्रेष्ठले सरकारी जग्गा आफन्तको नाममा बकस दिएको आरोपपत्रमा उल्लेख गरेको छ। उनले अख्तियारको बयानमा आफूले तोक आदेश भएर आएको फाइलमात्र अघि बढाएको बयान अख्तियारमा दिएका थिए। उनले श्रीमती सरस्वती श्रेष्ठको नाममा बालुवाटारको जग्गा बकस पास गरेर लिएका थिए। त्यस्तै बहिनी निर्मला श्रेष्ठको नाममा पनि उनले जग्गा बकस पास गरेर राखेका थिए। अख्तियारले उनीसँग २ करोड २९ लाख ५७ हजार ४ सय विगो र १० वर्षसम्म कैद सजाय माग गरेको छ।
मालपोतको नायब सुब्बाबाट अवकाश पाएपछि उनले आफ्नो जिल्ला पर्वत फर्किएर नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका थिए। सुरूमा जिल्ला सदस्यमा निर्वाचित भए। ४ वर्षअघि उनलाई जिल्ला कार्यसमितिको सचिवमा मनोनित गरिएको थियो। पर्वतमा राजनीति गरे पनि उनी काठमाडौंको बालाजुक्षेत्रमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।