काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई बधाइ तथा शुभकामना दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गरेपछि गृह मन्त्रालय पुगेका ज्ञवालीलाई मन्त्री थापाले बधाइ दिएका हुन्।
‘राज्यले विश्वास गरेर जिम्मेवारी दिएको छ, त्यसलाई ईमानदारीतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ, चुनौती थुप्रै छन्, कतिपय काम पूरा गर्न बाँकी छन्, तिनलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ,’ मन्त्री थापाले भने।
उनले सहकर्मीहरुलाई साथमा लिएर संगठनलाई एकतावद्ध गर्न पनि आइजी ज्ञवालीलाई आग्रह गरे।
‘तपाईंको कार्यकालको समय थोरै छ, तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ,’ थापाले भने।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहे ज्ञवाली ५ महिनापछि अनिवार्य अवकाशमा जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।