काठमाडौं-नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीले संविधानविपरीतका गतिविधिलाई पूर्ण नियन्त्रण तथा निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताएका छन्। सिंहदरबारमा बुधबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह लगाएपछि बोल्दै ज्ञवालीले नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गरे।
नेपाल प्रहरी जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उनले उल्लेख गरे। नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने बताए।
नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण र कर्मचारीको वृत्ति विकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै उनले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायको मार्गनिर्देशन, सद्भााव र सहकार्य रहिरहने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्को माघ २८ गतेको निर्णयअनुसार ज्ञवाली माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका थिए।
गृहमन्त्रालय आयोजित विशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

त्यसअवसरमा गृहसचिव न्यौपानेले गृह मन्त्रालयका तर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकालको सफलताको कामना गरे। उनले महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए।
नेपाल प्रहरीका सबै दर्जाका प्रहरी कर्मचारीलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयवस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायबीच सूचना आदानप्रदान, समन्वय एवम् सहकार्यसहित अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्नका लागि गृह मन्त्रालय सदैव सक्रियरुपमा क्रियाशील रहेको बताए। व्यक्तिकेन्द्रित प्रतिस्पर्धाभन्दा पनि व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशनसमेत दिए।
कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी उपस्थित थिए।
ज्ञवालीले गरे पदबहाली
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबारै पदबहाली गरेका छन्। उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंह, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए। ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गरेका थिए।


.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।