काठमाडौं- बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त भूमाफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतासहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ढकालको घरमा विस्फोट गराउन संलग्न गोर्खा घर भएका कपिल भट्ट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनी सो पार्टीको गण्डकी ब्युरो सदस्यसमेत रहेको प्रहरीले बताएको छ। पक्राउ पर्ने अन्य ६ जनाको भने प्रहरीले विवरण खुलाएको छैन।
महानगरीय महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
माघ १ गते बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको थियो।
विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको थियो। विस्फोटबाट घरका झ्यालका सिसा फुटेका थिए। तर कुनै मानवीय क्षति भने भएको थिएन।
विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो।
सो पार्टी सोही दिनले ललिता निवासको जग्गा कब्जासमेत गरेको घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।