काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पछिल्लो समय भारतमा कूटनीतिक भेटघाटलाई सक्रिय बनाएका छन्। आचार्यले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरे।
उक्त शिष्टाचार भेटवार्तामा नेपाल-भारत सम्बन्धका विभिन्न आयाममाथि छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
राजदूत आचार्यले शुक्रबार नयाँ भारतीय विदेश सचिव हर्षवद्धन स्रिंगलालाई भेटे। स्रिंगलाले गत जनवरी २९ मा नयाँ विदेश सचिवको कार्यभार सम्हालेका थिए। त्यसयता राजदूत आचार्य र उनीबीच भएको यो पहिलो भेटवार्ता हो। नेपाली दूतावासले भेटवार्ताका क्रममा राजदूत आचार्यले स्रिंगलालाई नयाँ विदेश सचिवका लागि शुभकामना दिएको र दुई देशबीचको मित्रवत सम्बन्ध विकासका लागि सँगै काम गर्ने विचार व्यक्त गरेको उल्लेख गरेको छ ।
राजदूत आचार्यले सुरक्षा सल्लाहाकार डोभाल र विदेश सचिव स्रिंगलासँग नेपाल र भारतको समग्र सम्बन्धका बारेमा छलफल भएको बताए।
‘द्विपक्षीय सम्बन्धका हरेक विषयमा सौहार्द विषयमा कुराकानी भयो,’ भेटबारे राजदूत आचार्यले नयाँदिल्लीबाट नेपाल लाइभसँग टेलिफोन सम्पर्कमा भने, ‘धेरै विषयमा कुराकानी भयो, अहिले यही विषयमा मात्रै भयो भनेर नभनौं ।’
भारतले नोभेम्बर २, २०१९ मा सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासमेत समेटेपछि दुई देशबीच विवाद बढेको छ।
त्यसको विरोधमा नोभेम्बर ६ मा कालापानी क्षेत्र नेपालको भएको कुरामा नेपाल सरकार स्पष्ट रहेको भन्दै एकतर्फी निर्णयबाट गरिने हेरफेर नेपालका लागि मान्य नहुने बताएको थियो।
यो विषयमा सबैको एउटै धारणा बनाउन प्रधानमन्त्री केपी ओलीले नोभेम्बर ९ मा सर्वपक्षीय बैठक आह्वान गरेका थिए, जहाँ सबैले यसमा सरकारले चाल्ने हर कदममा साथ रहने प्रतिवद्धता जनाएका थिए।
नोभेम्बर २० मा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत् कालापानीलगायतका क्षेत्र नेपालको भएको भन्दै विरोध जनाएको थियो। नोभेम्बर २३ मा सरकारले त्यस विषयमा वार्ता प्रस्ताव गर्दै चिठी पठाएको थियो तर भारतले ढिला गरि डिसेम्बर २९ आफ्नो प्रतिक्रिया पठाएको थियो।
त्यसमा भारतले आफू सीमा सम्बन्धमा नेपालसँग वार्तामा बस्न तयार भएको उल्लेख गरिएको भनिए पनि अहिलेसम्म वार्ताको मिति तय भएको छैन। भारतमा बिजय गोख्ले विदेश सचिवका रुपमा बिदा हुन लागेको र नयाँ विदेश सचिव नआई वार्ता नहुने भन्दै सीमा विवाद सुल्टाउन हुने भनिएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकलाई थाती राखिएको थियो ।
यसबारे भेटघाटका क्रममा केही कुराकानी भयो कि भन्ने नेपाल लाइभको प्रश्नमा राजदूत अाचार्य खुल्न चाहेनन् । ‘धेरै विषयमा कुराकानी भएको छ, के–के भयो भनेर अहिले भन्न उचित नहोला कि? ’, राजदूत आचार्यले भने ।
दुवै भेटका क्रममा उच्चस्तरीय द्विपक्षीय भेटवार्तालाई बढाउने विषयमा कुराकानी भएको राजदूत आचार्यले बताए।
गत ७ माघमा भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा विराटनगरस्थित एकीकृत जाँच चौकी उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने बेला आएको बताएका थिए।
‘सबै थाती रहेका विषयलाई संवादमार्फत् समाधान गर्ने समय आएको छ,’ ओलीले भनेका थिए, ‘मेरो सरकार यी विषयमा भारतसँग काम गर्न तयार छ।’
ओलीले कुन–कुन समस्या भन्ने चाहिँ खुलाएका थिएनन्। ओलीले सम्बोधनका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।
‘यो वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको छु, तपाई (ओली) सँग समय बिताउने छु,’ मोदीले प्रतिउत्तरमा भनेका थिए, ‘तपाईंले प्रेमसहित जुन निमन्त्रणा दिनुभयो मैले गर्व महसुस गरिरहेको छु। तपाईं र नेपाली नागरिकको प्रेमले मलाई नेपालतिर खिचिरहेको छ। म अवश्य पनि नेपाल आउने कार्यक्रम बनाउने छु।’
पछिल्लो समय नेपाल–भारतसम्बन्धमा अभूतपूर्व प्रगति देख्न पाइएको बताउँदै उनले नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्याउने बताएका थिए ।
सन् २०२० को दशकलाई नेपाल –भारत सम्बन्धका लागि स्वर्णिम दशक बनाउनुपर्ने मोदीको भनाइ थियो ।
‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्ने छौं,’ मोदीको भनाइ थियो,‘यो देशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णिम दशक बनोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।