काठमाडौ- ललिता निवासको जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले ४ लाख रुपैयाँमा ललिता निवास रहेको क्षेत्रको ८ आना जग्गा किनेको बयान दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बयानमा उनले यस्तो दाबी गरेका हुन्।
ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभकान्त ढकाल र रामकुमार सुवेदीको श्रीमतीहरूको नाममा रहेको जग्गा आफूले २०६१ सालमा लाग्ने मालपोत राजश्व बुझाएर खरिद गरेको दाबी नेकपा महासचिव पुत्र नवीनले गरेका छन्।
यसअघि महासचिव पौडेलले उक्त जग्गा सट्टापट्टा गरेको बयान दिएका थिए।
उक्त जग्गा आफूहरुले नवलपरासीको भुताहामा रहेको जग्गा पौडेल पत्नी दोमाया पौडेलको नाममा रहेको जग्गा शोभाकान्तकी श्रीमती उमा ढकालको नाममा र बालुवाटारको जग्गा सट्टा गरेको बताएका थिए।
उक्त जग्गा राखेर पौडेल परिवारले ४९ लाख रुपैयाँ कर्जा समेत निकालेको अख्तियारले विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा देखिन्छ।
यति विकास बैंकबाट सो स्थानको जग्गा राखी पौडेलले २०७० सालमा ४९ लाख निकाले समेत देखिएको छ।
पौडेलको बयान जस्ताको तस्तै
हाल म अष्ट्रेलियाको क्यानबेरामा बस्छु। मेरो नाममा बालुवाटारमा आठ आना जग्गा रहेको छ।
सो जग्गा मैले मिति २०६१/९/२९मा तत्कालीन जग्गाधनी उमाकुमारी ढकाल्नी र माधबी सुवेदीबाट खरिद गरेको हुँ।
प्रचलित कानुन बमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिको नाममा मालपोत कार्यालय, डिल्लीबजारमा दर्ता श्रेष्ता कायम रहेको कहींकतैबाट रोक्का नभएको सम्बन्धित मालपोत कार्यालय,डिल्लिबजारमा दर्ता श्रेष्ता कायम रहेको कही कतैंबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो जग्गा प्रचलीत कानुन बमोजिम रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजश्व बुझाई ४ लाखमा खरिद गरेको हुँ।
उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिका हुन भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारको नाममा कायम गर्नुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।